‘पोखरा आर्ट क्याम्प’ मा चार देशका कलाकार सहभागी
पोखरामा ‘पोखरा आर्ट क्याम्प सुरु’ भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान, अन्तर्राष्ट्रिय पानी रङ समाज (आइडब्लुएस) नेपाल र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा क्याम्प सुरु भएको हो ।
असोज ३ गतेसम्म चल्ने आर्ट क्याम्पमा चार देशका कलाकारको सहभागितामा रहेको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।
यसरी सहभागिता जनाउनेमा नेपाल सहित बंगलादेश, भारत र इरानका कलाकार छन् । जस अनुसार नेपालबाट ९०, बगंलादेशबाट १७, भारतबाट ८ र इरानबाट ६ जना कलाकारको सहभागिता रहेको सदस्यसचिव श्रेष्ठले बताउनुभयाे ।
आर्ट क्याम्पको पूर्व गृहमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएकाे हाे । साे अवसरमा उहाँले आर्ट क्याम्पको आयोजनाले एकआपसमा कलाको आदानप्रदान गर्न सघाउने विश्वास व्यक्त गर्नुभयाे । गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा आयोजित उद्घाटन कार्यक्रममा भारत, बगंलादेश र नेपालका १२ जना कलाकारले प्रत्यक्ष कला ‘डेमोष्ट्रेसन’ गरेका थिए ।
आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, प्राज्ञ रमेश श्रेष्ठ, समाजसेवी अशोक पालिखे, प्रतिष्ठान गण्डकीका उपकुलपति गोरे गुरुङ, बंगलादेशका मोहम्मद समिक अलाम, इरानका नदिर हुसेन, भारतका विजय बिस्वेल लगायतले सम्बाेधन गर्नुभएकाे थियाे ।

