पोखरालाई पर्यटनको राजधानी हामी आफै घोषणा गछौं : प्रमुख आचार्य
पोखरा टुरिजम एन्ड हस्पिटालिटी मिट–२०२२ सम्पन्न
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई ‘पर्यटनको राजधानी’ स्थानीय सरकारले नै घोषणा गर्ने बताउनुभएकाे छ ।
पर्यटनको राजधानी घोषणा गर्न पोखरा महानगरपालिकाले संघ सरकारलाई आग्रह गरेपनि हुन नसकिरहेका बेला पोखरा टुरिजम एन्ड हस्पिटालिटी मिट–२०२२ को उद्घाटन क्रममा नगर प्रमुख आचार्यले यस्ताे घाेषणा गर्नुभएकाे हाे ।
पाँच वर्ष अघि महानगर, गण्डकी प्रदेश सरकारले दुई पटक पहल गर्दा पनि संघ सरकारले पाेखरालाई पर्यटकीय राजधानी घाेषणा सम्बन्धि कुनै कार्वाही गरेकाे छैन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गरे पनि अहिलेसम्म थाँती रहेको छ । आचार्यले भन्नुभयाे, ‘पोखरालाई केन्द्रमा राखेर हामी आफै काम गर्छौं ।’
आचार्यले घाेषणा नभएपनि पोखरा पर्यटनको राजधानी नै रहेकाे उल्लेख गर्नुभयाे । साथै उहाँले पर्यटन उद्योगका लागि चाहिने जनशक्ति जनप्रिय बहुमुखी क्याम्पसले उत्पादन गर्नु सह्रानीय भएको बताउनुभयाे । पोखरालाई मुक्ति क्षेत्रको प्रवेशद्वार बनाउन प्रतिवद्ध रहेको जनाए ।
कार्यक्रमका प्रमुख वक्ता प्राडा रमेशराज कुँवरले ‘नेपालको पर्यटन हिजो, आज र भोलि विषयमा प्रस्तुति राख्दै नेपाल मै पहिलो पटक पर्वतीय पर्यटनको अध्ययन अध्यापन गराएको जनप्रिय क्याम्पसको प्रशंसा गरेरै नसकिने बताउनुभयाे ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले ‘नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनका सम्भावना’लाई सार्थक बनाउने उपायबारे प्रस्तुति राख्नुभएकाे थियाे ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानोर्बु शेर्पाले ‘नेपालको पर्वतीय पर्यटन’ विषयमा प्रस्तुति राख्दै पर्यटन पढेका दक्ष जनशक्ति होटल, बार, रेस्टुरेन्टका लागि मात्रै नभई समग्र पर्यटन क्षेत्रलाई चाहिने हुँदा पर्वतीय पर्यटनको पढाइले योगदान दिने विश्वास व्यक्त गर्नुभयाे ।
गण्डकी प्रदेशमा पर्यटनका सम्भावना खोज्न र पर्यटनसँग सम्बन्धित संघ, संस्था र सोही विषयको उच्च अध्ययन गरेका जनशक्तिलाई एकै ठाउँमा राखेर मिटको आयोजना गरिएको थियो ।
स्नातक र स्नातकोत्तरमा पर्यटन र आतिथ्यता अध्ययन गरिरहेका विद्यार्थी, विज्ञ र रोजगारदाताबिच छलफल गरी समस्या र सम्भावनाको खोजी गरिएको थियो ।
गण्डकी प्रदेशमा पर्यटन र अतिथ्यता शिक्षाको अहिलेको अवस्था र सम्भावनाबारे प्यानल छलफलमा पर्यटन शिक्षण गर्दै आएका डा.रामजी शर्मा, नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारी, बाराही गु्रपका निर्देशक वैभव पौडेल, पोखरा ग्रान्डका महाप्रबन्धक पञ्चलम लामा सहभागी प्यानल छलफलको सहजीकरण दीपेन्द्र पहारीले गर्नुभएकाे थियाे ।

