पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला, २०७९ हुने
पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला, २०७९ हुने भएको छ । संघले यही २०७९ साल मंसिर १६ देखि २५ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ आयोजना गर्न लागेको हो ।
संघले पोखरामा पत्रकार सम्मेलन गरी पोखरालाई शिक्षा, स्वास्थ्य,पर्यटन र कृषिको सहर बनाउने उपक्रममा नै संघले नेपालको निजी क्षेत्रको इतिहासमै पहिलो पटक संस्थागत रुपमा मेला र महोत्सव आयोजनाको परम्परा सुरु गरेको जनाएको छ ।
२०४२ सालको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा २०५२ सालमा आयोजित पोखरा महोत्सवपछि नै देशभर उद्योग वाणिज्य संघहरुले मेला र महोत्सव आयोजना गर्न थालेको इतिहास रहेको संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिनुभयो ।
पोखरा उद्योग वाणिज्य संघको वार्षिक नियमित कार्यक्रमको रुपमा रहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाका २ संस्करणहरु कोभिड १९ का कारण सम्भव नभएपनि यस बर्ष पुनः गर्न लागिएको संघले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना, पोखरा महानगरपालिकाको सहयोग एवम् नेपालकै प्रतिसष्ठत ब्यबसायिक घराना लक्ष्मी हाउसको मुख्य प्रायोजनमा ‘लगानीको सम्वर्द्धनः उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने उद्घोष सहित आयोजना हुन लागेको यो मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेलासमितिका सभापति श्री नरेन्द्रकुमार प्रधानज्युको संयोजकत्वमा २५१ सदस्यीय मुल आयोजक र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष श्री पवनकुमार प्रजापतिको अध्यक्षतामा कार्य सम्पादन समिति गठन भएको छ ।
कार्यसम्पादन समितिअन्तर्गत सल्लाहकार समितिका अलावा विभिन्न २५ वटा उपसमिति पनि गठन भइसकेका छन् । स्टल बुकिङ तीव्र गतिमा अघि बढेको छ । हामीसँग डोमतर्फ ७८,अटोका ४५ र अन्य विभिन्न खालका १२० वटा स्टल गरी करिब २५० स्टल रहने जनाएको छ ।
पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्धेश्यले मेलाको आयोजना गरिएको हो ।
लगानीको सम्वर्द्धन उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारा अनुरुप नै यो मेला गण्डकी प्रदेशको व्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समर्पित रहेको छ ।
मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण रहेका छन् ।
मेलाको थप आकर्षणतर्फ सांस्कृतिक कार्यक्रम पनि समावेश छ । मेलाको प्रवेश टिकटको हकमा सर्वसाधारणको लागि रु.१ सय र विद्यार्थीको लागि रु.६० कायम गरिएको छ ।
मेला अवलोकनकर्ताले क्यूआर कोडमार्फत् टिकटको भुक्तानी गर्ने तथा मेला स्थलमा रहेका सम्पूर्ण स्टलहरुको जानकारी प्राप्त गर्ने व्यवस्था मिलाइएको संघले जनाएको छ । मेलाबाट अनुमानित आम्दानी रु. १ करोडमा अनुमानित खर्च रु ८५ लाख कटाउँदा रु. १५ लाख बचत हुने अनुमान आयोजकको छ ।

