मुख्यमन्त्री पोखरेलद्वारा हरियोखर्क अस्पताल अनुगमन
‘स्वास्थ्यका क्षेत्रमा देखिने गरी काम गछौं’
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार पोखराको हरियोखर्क अस्पतालको अनुगमन गर्नुभएकाे छ ।
इन्टरनेसनल नेपाल फेलोसिपद्वारा विसं २००९ सालमा पोखरामा स्थापित यो अस्पतालले हाल विशिष्ट सेवा प्रदान गर्दै आएको छ ।
मुख्यमन्त्री पोखरेलले ७० वर्ष पहिला कुष्ठरोगको उपचारका लागि खुलेको अस्पतालले निरन्तर सेवा प्रदान गर्दै अहिले शारीरिक असक्तता, कानको समस्या, स्पाइनल कर्ड इन्जुरी जस्ता समस्या भएका बिरामीका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नुभयाे ।
हरियोखर्क अस्पतालका बारेमा आफूले धेरै पहिलादेखि नै सुनेको भए पनि यसको इतिहास र हाल गर्दै आएका कामका बारेमा स्थलगतरुपमै जानकारी लिन आफू अनुगमनमा आएको उहाँकाे भनाइ थियाे ।
मुख्यमन्त्री पाेखरेलले विभिन्न कारणले स्पाइनल कर्डको समस्या भएका बिरामीका क्षेत्रमा प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउन लागेको सुनाउँदै उहाँले यसका लागि अस्पतालबाट सुझावको अपेक्षा गरेको बताउनुभयाे ।
उहाँले प्रदेश सरकार विकास निर्माण मात्र नभएर स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा समेत देखिने गरी काम गर्दै आएको र आगामी वर्षको बजेटमा समेत यस्ता क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयाे ।
यसअघि रगत लिनुपर्दा निश्चित शुल्क तिर्नुपर्ने ब्यवस्था हटाएकाे र अब मृगौलाको बिरामीको निशुल्क डायलासिस गर्ने बारेमा समेत प्रदेश सरकारले योजना बनाइरहेको मुख्यमन्त्री पोखरेलले भनाइ थियाे ।

