चितवनमा सवारी दुर्घटनामा ३ जनाकाे मृत्यु
चितवनमा सवारी दुर्घटनामा ३ जनाकाे मृत्यु भएकाे छ । पूर्वी चितवनको रत्ननगरमा पर्ने खगेरी पुल नजिक गाडीको ठक्करबाट एक वृद्ध र इच्छाकामनाकाे कुरिनटारमा २ जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
रत्ननगरमा ७१ वर्षीय खड्कबहादुर रानामगरको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका थिए । प्रहरीले ठक्कर दिएर फरार भएको गाडीलाई २४ घण्टाभित्र नियन्त्रणमा लिने प्रतिबद्धता प्रहरीले जनाएपछि राजमार्ग खुलेकाे हाे ।
इच्छाकामना–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको हाे । प्रहरीका अनुसार काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किएकाे थियाे ।
दुर्घटनामा मोटरसाइकल चालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र काठमाडौंका ३२ वर्षीय सरोज माझीको मृत्यु भएको हाे । ट्रकका चालक र ट्रक प्रहरी नियन्त्रणमा छ ।

