दलहरूद्वारा समानुपातिकतर्फको बन्दसूची पेश
राजनीतिक दलहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची पेश गरेका छन् ।
निर्वाचन आयोगले दलहरुलाई समानुपातिकतर्फको उम्मेदवारको सूची पेश गर्नकालागि असोज २ र ३ गतेको मिति तोकेको थियो । आयोगले दिएको समयसीमा सकिनै लाग्दा प्रमुख राजनीतिक दलले उम्मेदवारको सूची बुझाएका हुन् ।
सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रधानमन्त्री पत्नी आरजु राणा लगायतका नेताहरुलाई समानुपातिक तर्फको सूचीमा समेटेको छ ।
त्यस्तै पदाधिकारी तर्फ सहमहामन्त्री जीवन परियार र फरमुल्लाह मन्सुरकाे नाम सूचीमा समावेश छ ।
त्यस्तै नेकपा एमालेले पदाधिकारी बाहेकका नेताहरुलाई समेटेको जनाएको छ । उक्त दलले अधिकांश नयाँ अनुहारलाई समानुपातिकतर्फको बन्दसूचीमा समेटेको नेता निरज आचार्यले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महरालाई समानुपातिक तर्फको बन्दसूचीमा समावेश गरेको छ । युवाहरुलाई प्राथमिकता दिएको माओवादी केन्द्रका नेता बर्षमान पुन अनन्तले जानकारी दिनुभयो ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका ५ नेता समेत माओवादी केन्द्रको बन्दसूचीमा समावेश भएका छन् ।
रवि लामिछाने नेतृत्वको राष्टिय स्वतन्त्र पार्टीले आन्तरिक निर्वाचन मार्फत् समानुपातिक तर्फको उम्मेदवार चयन गरी बन्दसूची पेश गरेको जनाएको छ ।
निर्वाचन आयोगमा निर्वाचनमा भाग लिनका लागि दल दर्ता गराएका साना ठूला सबै दलले समानुपातिक तर्फको बन्दसूची बुझाइसकेका छन् ।
प्राप्त बन्दसूचीको छानविन गरी सच्याउन आवश्यक भएका निर्वाचन आयोगले असोज १० देखि १६ गतेसम्मको समय दिने जनाएको छ । आयोगका अनुसार दलहरुले व्यापक हेरफेर गर्न भने पाउनेछैनन् ।


