कांग्रेसले ३, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले १/१ महानगरकाे नेतृत्व लिने सहमति

सत्तारुढ दलहरुवीच स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वमा सहमति जुटेकाे छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच महानगर र उपमहानगरको मेयर र उपमेयरमा साझा उम्मेदवार उठाउने समझदारी भएकाे हाे ।

दलहरूवीच भएकाे लिखित सहमतिमा कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुर महानगरपालिकाको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद उल्लेख छ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर र ललितपुरको उपमेयर पाउने भएकाे छ ।

नेकपा एकीकृत समाजवादीले पाेखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर लिने तथा जनता समाजवादी पार्टीले वीरगञ्जको मेयर र विराटनगरको उपमेयर पाउने समझदारी बनेकाे छ ।

उपमहानगरपालिकातर्फ नेपाली कांग्रेसले ७, नेकपा माओवादी केन्द्रले २, एकीकृत समाजवादी र जनता समाजवादीले १/१ वटामा मेयर उठाउनेछन् ।

कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढीको मेयर पद लिनेछ भने जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर लिने सहमतिपत्रमा उल्लेख छ ।

नेकपा माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर पद लिनेछ भने धरान र धनगढीको उपमेयर पाउने भएकाे छ ।

नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयर पद लिनेछ भने इटहरी, बुटवल र तुलसीपुरको उपमेयर तथा जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको मेयर र कलैया र नेपालगञ्जको उपमेयर लिने समझदारी बनेकाे हाे ।

समझदारीपत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका माधवकुमार नेपाल, जनता समाजवादीका उपेन्द्र यादव तथा जनमाेर्चाकी दुर्गा पाैडेलले हस्ताक्षर गर्नुभएकाे छ ।

Facebook Comments