बझाङमा जीप दुर्घटना, ७ जनाकाे मृत्यु
बझाङमा भएको जीप दुर्घटना हुँदा ७ जनाकाे मृत्यु भएकाे छ । बझाङकाे मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ ज ११७ नम्बरको जीप दुर्घटना भएकाे हाे ।
प्रहरीका अनुसार दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा बझाङकाे मष्टा गाउँपालिका–२ का ५ र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २ जना रहेका छन् ।
घाइते भएका १८ जनामध्ये ३ जनाकाे अवस्था गम्भीर भएकाले थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । मष्टा गाउँपालिका–२ बस्ने ५० वर्षीय सिन्कीदेवी भण्डारी, ३६ वर्षीय सिंहवीर बुढा र १० वर्षीय विशाल खड्कालाई जिल्ला अस्पताल बझाङले डडेल्धुरा पठाइएकाे हाे ।
अन्य १५ जना घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
बझाङ सदरमुकाम चैनपुरमा लागेको मेला हेरेर फर्किनेहरु साे जिपमा सवार थिए । प्रहरीले क्षमता भन्दा धेरै यात्रु भएका कारण जिप दुर्घटना भएको हुन सक्ने आशंका गरेकाे छ ।
मृत्यु भएकाकाे विवरण
मृत्यु हुनेमा मष्टा गाउँपालिका–२ का ५ जनामध्ये २८ वर्षीया बसन्ती धामी कठायत, निजकी ७ महिनाकी छोरी दीक्षिता, १३ वर्षीया सम्झना खड्का, १४ वर्षीय प्रचण्ड खड्का, १५ वर्षीय रोशन खड्का छन । त्यस्तै शुक्लाफाँटा नगरपालिका–७ का ४० वर्षीय झरेन्द्र बोहरा र २ बस्ने ३८ वर्षीय वीरेन्द्र अधिकारी रहेकाे प्रहरीले जनाएकाे छ ।
चाडबाडका बेला सार्वजनिक यातायातमा यात्रुकाे भिडभाड हुँदा सजग हुन प्रहरीले अनुराेध गरेकाे छ ।

