दलित भएकाले अवसर नदिएकाे गुनासाे
पर्वत जिल्लाको महाशिला गाउँपालिका ४ मा रहेको स्वधर्म माध्यामिक विद्यालयको प्रध्यानाध्यापक नियुक्तीको प्रक्रियामा विभेद भएकाे एक शिक्षककाे गुनासाे छ ।
कानुनत बन्देज गरिएको जातीय भेदभाव अझै पनि ब्यवहारबाट भने हट्न नसकेको शिक्षक लालबहादुर विककाे आराेप छ ।
शिक्षा नियामावली अनुसार विद्यालयका प्रधानाध्यापक हुन योग्य शिक्षक दलित भएपनि साे अवसरबाट बञ्चित गराइएको विककाे दावी छ । प्रध्यानाध्यापक पद रिक्त भएको खण्डमा मावि तहका स्थायी शिक्षकलाई निमित्त प्रअको जिम्मेवारी दिनुपर्ने नियमावलीमा उल्लेख भएपनि विक भने साे अवसरबाट बन्चित हुनुभएकाे हाे ।
यो विद्यालयमा कार्यरत एक मात्र स्थायी मावि तहका शिक्षक लालबहादुर विकलाई अवसरबाट बञ्चित गराएर राहत कोटामा कार्यरत शिक्षक शेषकान्त शर्मालाई प्रधानाध्यापककाे जिम्मेवारी प्रदान गरिएको छ ।
‘मैले यहाँ निकै अपमान सहेर काम गर्नु परेको छ ।’ शिक्षक विकले भने, ‘एउटा समुदायको प्रतिनिधिले जातीयताकै आधारमा कहिलेसम्म अन्याय सहनुपर्ने ?’ अवसरबाट बञ्चित हुनुपरेको गुनासो गर्दै विकले विद्यालयमा कार्यरत शिक्षकहरुको ब्यवहार समेत आफुमाथि समान नभएको जिकीर गर्नुभयाे ।
प्रधानाध्यापक नियुक्तीका विषयलाई लिएर गाउँपालिकाकाे शिक्षा शाखा र अख्तियारसम्म गुनासाे गरेपनि सुनुवाइ नभएकाे शिक्षक विककाे भनाइ छ ।
अख्तियारले समेत अवैधानिक रुपमा प्रअ नियुक्त गरिएकाले तत्काल विकलाई जिम्मेवारी दिन परिपत्र गरेपनि कार्यान्वयन भएकाे छैन ।
गाउँपालिकाकाे शिक्षा शाखा प्रमुख दिनेश शर्माले भने शिक्षक विकलाई जातीय कारणले अवसरबाट बञ्चित गराइएको भन्ने आधार नभएको बताउनुभयाे ।
उहाँले लामो समयदेखि कार्यरत शिक्षकलाई निमित्तको जिम्मेवारी दिइएको जानकारी प्राप्त गरेको बताउदै शिक्षा शाखाले चासो दिएकाे बताउनुभयाे ।
उहँाले विद्यालय ब्यवस्थापन समिती गठनलाई पुर्णता दिएर प्रअको नियुक्ती गर्न परिपत्र भईसकेको बताउनुभयाे ।

