चीनमा विमान दुर्घटना, हवाइ सुरक्षामा राष्ट्रपति सी चिनफिङकाे चासाे

चीनमा चाइना इस्टर्नको विमान सोमबार दुर्घटनामा परेकाे छ । जहाजमा सवार १२३ यात्रु र ९ जना चालक दलका सदस्यकाे अवस्था अज्ञात छ ।

चिनियाँ सञ्चार माध्यमले दुर्घटनास्थलमा पुगेका स्थानीयलाइ उधृत गर्दै जनाएअनुसार जहाजका केही टुक्राटाक्री मात्रै फेला परेकाे छ ।

चिनियाँ अधिकारीहरूले भने अहिलेसम्म विमान दुर्घटनामा भएकाे हताहतीबारे औपचारिक जानकारी दिएका छैनन्। यद्यपि उद्दारकर्मी भने दुर्घटनास्थलमा पुगेकाे चाइना ग्लाेबल टेलिभिजन नेटर्वकले जनाएकाे छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले दुर्घटनाप्रति गहिरो दु:ख प्रकट गर्नुभएकाे छ भने हवाई सुरक्षामा विशेष चासाे व्यक्त गर्नुभएकाे बताइएकाे छ । उहाँले उद्धारमा तदारूकताका साथ खटिन पनि निर्देशन दिनुभएकाे समाचार छ।

फ्लाइटराडारको डाटाअनुसार उक्त बोइङ ७३७ जहाजमा २९ हजार फिट माथि उडिरहँदा समस्या देखिएको थियो। एक मिनेटपछि नै ८ हजार फिटको उचाइमा विमान पुगेकाे र पुनः उचाइ लिन खोजे पनि जहाज जमिनमा खसेको थियो।

विमान जंगलमा खसेपछि आगो लागेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएकाे थियाे ।

Facebook Comments