गठबन्धन बचाउनुपर्छः प्रचण्ड

बैद्य, विप्लव र भट्टराईलाई एकतामा आउन अपिल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुबीच गठबन्धन बचाएर अगाडि जानुपर्ने बताउनुभएकाे छ ।

बिहीबार कैलालीमा आयोजित पार्टी प्रवेश कार्यक्रम अध्यक्ष प्रचण्डले आवश्यक परेको ठाउँमा तालमेलका लागि लचक हुन तथा त्याग गरेरै भएपनि गठबन्धन बचाउनुपर्ने बताउनुभएकाे हाे ।

उहाँले सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुन नदिने अनेक षड्यन्त्र भएको र आफूहरुले असफल पारेको दाबी गर्नुभयाे ।

‘हिजो बेलुकासम्म पनि गठबन्धन टुटाउन अनेक षड्यन्त्र भए,’ प्रचण्डले भन्नुभयाे, ‘महानगर, उपमहानगरसम्म गठबन्धन नहोस् र फेरि प्रतिगमन गर्न पाइयोस् भन्ने षड्यन्त्र गरे । त्यो असफल भएपछि प्रतिक्रियावादीहरु विक्षिप्त भएका छन् ।’

गठबन्धनमा सहमति जुटाउन आफूले धेरै मेहनत गरेको पनि प्रचण्डकाे भनाइ थियाे । अहिले माओवादीको नीतिकै वरपर देशकाे राजनीति केन्द्रित भएको भन्दै उहाँकाे जिकीर छ ।

अध्यक्ष प्रचण्डले संघीय चुनावपछि देशको नेतृत्व लिने समेत दाबी गर्नुभयाे । उहाँले माओवादीबाट फुटेर गएका सबै कम्युनिष्टहरू एक हुनुपर्ने भन्दै माेहन बैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द लगायतलाइ छिटाे एकतामा आउन अपिल समेत गर्नुभयाे ।

Facebook Comments