पोखरेली व्यवसायीलाई अमेरिका यात्रामा सहजीकरण गर्ने काउन्सिलर अस्टिनको आश्वासन

नेपालस्थित अमेरिकी राजदूतावासका काउन्सिलर उपप्रमुख अस्टिन रिच्ची एलनले उद्योगी व्यवसायीहरुका लागि अमेरिकी भिसा प्रक्रियामा सघाउने वचनवद्दता व्यक्त गर्नुभएकाे छ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालासहित पदाधिकारीसँग बुधबार भएको भेटमा उनले संघको सिफारिस अनुसार सिक्न र व्यवसाय विस्तारको लागि अमेरिका जान चाहने पोखरेली व्यवसायीहरुलाई भिसा प्रक्रियामा सहजीकरण गरिने बताउनुभएकाे हाे ।

यसअघि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले संघको सिफारिसमा व्यवसाय विस्तारको उद्देश्यले अमेरिका जान चाहने व्यवसायीहरुलाई सहजीकरण गर्न आग्रह गर्नुभएकाे थियाे ।

‘व्यवसायीहरु व्यवसाय बिस्तार गर्न,नयाँ ज्ञान आर्जन गर्न नै भ्रमणमा जाने हो’,अध्यक्ष कोइरालाले भनेका थिए,‘संघका सदस्यहरुको हकमा हामीले ग्यारेण्टी लिएका हाम्रा सदस्य उद्योगी÷व्यवसायीको भिसा प्रक्रिया सहजीकरण गरियोस्, व्यवसायी फर्कने जिम्मा हामी लिन्छौँ ।’ उहाँले महिला उद्यमशीलता बढाउन महिला उद्यमीको टोलीलाई विभिन्न व्यावसायिक मेला÷प्रदर्शनीमा भाग लिने अवसरको लागि अनुरोध पनि गर्नुभएकाे थियाे ।

अन्तरक्रिया कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापति, उद्योग उपाध्यक्ष गोकर्ण कार्की,वाणिज्य उपाध्यक्ष अर्जुन पोखरेल,महासचिव सुरेन्द्रमान विजुक्छे,कोषाध्यक्ष बलराम आचार्य, कार्यसमिति सदस्य तथा महिला उद्यम विकास समिति संयोजक कुमारी मुना बास्तोलालगायतको उपस्थिति थियो ।

उनीहरुले अमेरिकी बजारमा भन्सार छुट पाएका सामानहरु पठाउनकै लागि पनि त्यहाँको बजार अवस्था बुझ्नु,प्रविधिको जानकारीसहित उत्पादकत्व बढाउनेको लागि पनि अध्ययन र भ्रमण जरुरी रहेको बताएका थिए ।

Facebook Comments