तनहुँको व्यासमा कांग्रेस उम्मेदवार विजयी
तनहुँको जिल्लाकाे सदरमुकाम समेत रहेकाे व्यास नगरपालिकाका नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्छ । व्यासकाे मेयरमा वैकुण्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरै विजयी हुनुभएकाे हाे ।
मेयरमा विजयी न्यौपानेले १२ हजार ७८ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८ सय २६ मत प्राप्त गर्नुभयाे ।
व्यास नगरपालिकाको चुनावमा एमालेको समर्थन पाउनुभएका कांग्रेसका नेता गाेविन्दाराज जाेशीका छाेरा दीपकराजको पक्षमा राम्राे मत परेकाे थियाे । जाेशीकाे करिब एक हजार मत भने बदर हुन पुग्दा पराजय हुनुपरेकाे निकटस्थहरूकाे दावी छ ।
तनहुँ सदरमुकाम समेत रहेको दमौली बजार क्षेत्रमा पर्ने वडा नम्बर १, २, ३, ४, ५ मा दीपकराज धेरै मतान्तरले अगाडि भएपनि वडा नम्बर ६, ७, ८ को गणना गर्दा न्यौपानेकाे जाेशीसँगकाे मतान्तर घटेकाे थियाे । वडा नम्बर १० को मतपरिणामले भने वैकुण्ठकाे जित सुनिश्चित हुन पुगेकाे हाे ।
उपप्रमुखमा कांग्रेसकै इन्दिरा दरैले १३ हजार ४ सय ९८ मत प्राप्त गरी विजयी हुनुभयाे । उहाँकी प्रतिस्पर्धी नेकपा एमालेकी वसुन्धरा घर्तीले १० हजार ४२ गर्नुभएकाे थियाे ।
जाेशीले पहिला कांग्रेसबाट नै टिकट पाउन काेशिष गरेपनि तनहुँमा रामचन्द्र पाैडेल र गाेविन्दराज जाेशी पक्षवीचकाे तीव्र मतभेदका कारण असम्भव भएकाे थियाे ।
पाैडेलले संघीय निर्वाचनमा पराजय हुनुमा जाेशीकाे हात रहेकाे बुझाइ रहेकाे छ ।

