१८ औं लेखनाथ महोत्सव सुरु

१८ औं लेखनाथ महोत्सव सुरु विहीबारदेखि शुरू भएको छ ।

महाेत्सवको गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले महाेत्सवकाे उद्दघाटन गर्नुभएकाे हाे ।

प्रदेश प्रमुख गुरुङ्गले आम जनता र उपभोक्तालाई उत्पादक एवं उद्योगी व्यवसायीहरुसग अन्तर्क्रिया गराउन यस्ता महोत्सवले उल्लेखनीय भूमिका खेल्ने बताउनुभयाे । स्थानीय उत्पादक एवं उद्योगी व्यवसायीहरुलाई महाेत्सव लगायतका गतिविधिले प्रत्यक्ष टेवा पुग्ने वताउँदै आर्थिक विकासको मेरुदण्ड नै उद्योग र व्यवसाय भएकोमा जाेड दिनुभयाे ।

उहाँले राज्यका तिन वटै तहले उद्योग र व्यवसाय प्रर्वद्धनका लागि ध्यान दिन र समग्र गण्डकी प्रदेशकाे विकास र समृद्धिमा ध्यान दिन र मिलेर काम गर्न सबै दललाई आग्रह गर्नुभयाे ।

कार्यक्रममा पूर्व गृहमन्त्री एवं गण्डकी प्रदेशसभाका सदस्य खगराज अधिकारीले विकासको गतिलाई तिव्रता दिनको उद्योगी ब्यवसायीहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयाे ।

उहाँले लेखनाथलई लेखनाथ कै रुपमा स्थापित गर्नुपर्ने जनगुनासो बढ्दै गएकाले अवका दिनमा लेखनाथ नगरपालिका बनाउने अभियान चाल्नु पर्ने सुझाव राख्नुभयाे ।

उक्त अवसरमा पूर्व कानुन मन्त्री यज्ञ बहादुर थापाले ग्रेटर पोखराको अवधारणालाई अगाडी सारेर लेखनाथलाई पोखरामा मिसाउने जुन सहमति भयो त्यो वास्तविक रुपमा सार्थक नभएकाे उल्लेख गर्नुभयाे ।

कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र कडेलले कृषिलाई बढवा दिँदै कला र संस्कृतिलाई पनि पर्यटन प्रर्वद्धनमा प्रयोग गर्नुपर्ने सुझाव राख्नसभयाे ।

उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोईरालाले सरकारले चालेका हरेक कदम उद्योग ब्यवसायिमैत्री नभएको हुदाँ ब्यवसायिक क्षेत्रमा गरि खान नै असहज स्थिति आएको बताउनुभयाे ।

कार्यक्रममा स्वागत गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले आर्थिक क्षेत्रमा देखीएका विभिन्न समस्याले व्यवसायीहरुमा संकट आएको बताउँदै व्यवसायीका समस्या र गुनासालाई राज्यले गम्भीर भएर सम्बोधन गर्नुपर्ने बताउनुभयाे ।

महाेत्सव पुस १८ गतेसम्म चल्नेछ । महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन ।

महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति,बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा रहने छ ।

महोत्सवमा १० करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरिएको छ भने ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भै १० लाख बचत हुने बताईएको छ ।

Facebook Comments