यमपञ्चकः कुकुर तिहार मनाइँदै
हिन्दु नेपालीहरूले यमपञ्चक अर्थात तिहार अन्तर्गत कुकुर तिहार मनाउँदैछन् । आज घरघरमा पूजाआराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदैछ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
धर्मशास्त्रका ज्ञाताका अनुसार नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने हुन्छ। सामन्यतय यमपञ्चककाे पहिलाे दिन काग तिहार, दाेस्राे दिन कुकुर तिहार, तेस्राे दिन गाइतिहार र लक्ष्मी पुजा, चाैंथाे दिन गाेरू तिहार र पाँचाै तथा अन्तिम दिनमा भाइतिहार मनाइने भएपनि यस वर्ष तिथि घटबढ भएका कारण कुकुर तिहार तथा लक्ष्मी पुजा साेमबार परेकाे छ ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् रामचन्द्र गौतमले जानकारी दिनुभयाे।
वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ।

