शारीरिक स्वस्थतासंगै मानसिक स्वस्थताकाे पनि ख्याल गराैं

धेरै नेपालीहरू राेजगारीका लागि जापनमा आउने गरेका छन् । जापानको जीवनयापन, दैनिकी, यहॉंको काम गर्ने शैली र भिसा धान्नको लागि आप्रवासीहरुले गर्नुपर्ने संघर्षका बारेमा बेला बखतमा धेरै लेखहरू प्रकाशित भईरहेका हुन्छन् ।

तर पनि नेपाल रहने साथी भाइ ईष्टमित्र र परिवारलाई अझै बुझाउन नसकेका कारणले जापानमा रहने धेरै नेपालीहरुले तनावपूर्ण अवस्थामा हुन्छन् । एकदिनको कुरा हो एकजना नेपाली काम गरिरहेको अवस्थामा ऊहॉंलाई एक्कासी टाउको दुखेको अनुभव भयो । त्यो दिनको नाईट डिउटी सकेर अस्पताल आउदा संयोगले मसँग भेट हुन पुग्यो । यसै त विदेशमा कोही नेपालीलाई गार्हो परेको छ भनेपछि सहयोग गर्न अघि सर्ने हामी नेपालीको संस्कार नै हो । त्यहीमाथि उहासँग भावनाको नाताले पारिवारिक सम्बन्ध जस्तै थियो । ऊहॉंलाई त्यसदिन CT scan गरेर खासै केही नदेखिएपछि दुखाई कम हुने औषधी लिएर हामी घर फर्कियौं ।

तर ऊहॉंको टाउको दुखाईमा खास्सै परिवर्तन आएन । त्यसपछि कहिले ईमरजेन्सीमा त कहिले पुन: त्यही अस्पतालमा चेकजॉंच गराऊने क्रम र CT scan गर्ने क्रम जारी रहयो । कहिले दुखाई कम हुने औषधी त ,कहिले माईग्रेनको औषधी दिएर पठाउनु भयो । धेरै दिनसम्म पनि बिमार ठिक नभएपछि र असैह्य दुखाईपछि एकदिन रुदै “म त मर्छु अब मलाई निकै गाहो भयो मलाई छिटो अस्पताल लगि दिनुस् भन्दै फोन गर्नुभयो र पुन: अस्पताल लग्यौं । यस्तो अप्ठ्यारो परिस्थितमा परदेशको ठॉंऊमा न कोही आफन्त न कोही परिवार आफ्ना आँसुहरू दबाऊदै ऊहॉंलाई सान्त्वना दिनु शिवाय केही उपाय थिएन ।

डाक्टरले दुखाई कम हुने सुई लगाईदिंदा र स्लाईनबाट समेत दुखाई कम हुने औषधी लगाईदिएपनि केही परिवर्तन भएन । घर फर्काएर ल्याऊ भने परदेशको ठॉंऊ साथि -भाइ ,आफन्त कोही छैनन् , कता केही हुने हो कि झै लाग्ने । अस्पतालमा भर्ना गरौ डाक्टरले माईग्रेनको टाउको दुखाई भर्ना गर्न मिल्दैन भन्छन् । म आफैलाई पनि माईग्रेन थियो तर ऊहॉंको जस्तो दुखाई कहिल्यै हुदैनथ्यो । जापानको स्वास्थ्य सेवा राम्रो भएपनि बिरामीलाई ठीक नभएपछि लामाेसमयसम्म पनि ठिक नभएकाले अन्य विकल्पकाे उपचारका लागि अनुराेध गर्याैं ।

मलाई पनि माईग्रेन छ तर यस्तो हुदैन डाक्टर, के -कसरी हुन्छ रोग पत्ता लगाउनुपर्याे भनेपछि (MRI वा अन्य विधि प्रयोग गरेर हेरिदिनुहोस् भनेर आफैले भनेपछि) बल्ल MRI गर्ने कुरा भयो । जापानमा सबै कुरा ठीक भएपनि यो अस्पतालमा उपचार गर्ने शैलि अत्यन्तै सुस्त र फरक छ । सायद यही कारणले होला धेरैले विभिन्न समस्या भोग्नु परेको छ । अझ भनौं कोही -कोहीले त अकालमा ज्यान समेत गुमाउनु परेको छ ।

ऊहॉंको MRI रिपोर्टमा समस्या देखियो । अत्याधिक तनावका कारण दिमागमा असर परेको रहिछ । समयमै रोग पत्ता लागेर ऊहॉंकाे अहिले पनि टोकियो मेट्रो पुलिस अस्पताल नाकानोम् मा उपचार भइरहेकाे छ । अहिले स्वास्थ्यमा निकै राम्रो सुधार भएको छ । ऊहॉं मुत्यूको मुखमा पुगेर मृत्युलाई जितेर आउनु भाको छ भन्दा पनि फरक पर्दैन । अब छिट्टै अस्पतालबाट घर फर्किदै हुनुहुन्छ ।

हामीमा शारीरिक स्वास्थ्य भन्दा मानसिक स्वास्थ्य बलियो हुनुपर्ने रहेछ भन्ने पाठ याे घटनाले गराएकाे छ । जब मानिसले आवश्यकता भन्दा बढी चिन्ता लिने गर्छ, अझ भनौ धेरै नै कुरा मनमा खेलाउने र सोच्ने गर्छ त्यसले रोग प्रतिरोधात्मक क्षमतामा कम गराउदो रहेछ । लामो समय सम्म पिडा लुकाएर मनमा राख्नाले यसले भित्र-भित्र तपाईलाई सिध्याऊछ । यस्तो अवस्थामा आफ्ना कोही नजिकका यस्ता व्यक्ति जसले तपाईंलाई के भयो ? कस्तो छ ? म छु नि नआत्तिनुहोस भनेर सोध्ने गर्छ , त्यस्ता व्यक्तिलाई आफ्ना मनका कुरा सुनाउनु पर्दोरहेछ । तनाव जसलाई पनि जुनवेला पर्न सक्छ ।

तनावकाे महशुस भएमा समयमा नै पहिचान गरी समाधान तर्फ लाग्नुपर्दछ । अन्यथा यसले गम्भीर शारिरीक रोग समेत निम्त्याउँछ । मानसिक रोग विशेषज्ञ डा. मुक्ति आचार्यका अनुसार जाे सुकै व्यक्तिलाई तनाव हुन सक्ने र यसका विभिन्न कारणहरू हुन सक्छ । उहाँले तनाव व्यवस्थापन गर्नका लागी परिवार, साथी-भाइ र समाजले हरेक तरिकाले विरामीको मनोबल बढाउन जरूरी रहेकाे उल्लेख गर्नुभयाे ।

मनाेचिकित्सकहरूले तनावबाट छुटकारा उापन Mind लाई Distract गर्न जरूरीका साथै खुसी रहने बाटोहरू पहिचान गरी गलत सोचाईलाई हटाउनुपर्ने बताउँछन् ।

विशेषत आफुले तनाव व्यवस्थापन गर्नसक्यो भने जिवन निकै सरल बन्ने उहॉंको भनाई छ । मनोरोग भन्ने वित्तिकै हाम्रो समाजमा पागलको संज्ञा दिने गरिन्छ । हामी जतिसुकै पढे लेखेको भएपनि मानसिक रोगका डाक्टरसँग जान अझै हिचकिचाउने चलन छ । अर्का मनोरोग विशेषज्ञ डा. अनिल सुवेदीले मनोरोग भयो भने अन्यन्त्र गएर झार-फुक अथवा अन्य विभिन्न चेक जाँच गरेपछि बल्ल मनोरोग डाक्टरकोमा आउने चलन रहेकाे अनुभव सुनाउनुभयाे ।

विश्व स्वास्थ्य संगठनका अनुसार शारीरीक स्वास्थ्य, मानसिक स्वास्थ्य र सामाजिक स्वास्थ्य एकदमै महत्वपूर्ण मानिन्छ । डा. सुवेदीका अनुसार जब मानिसको मानसिक स्वास्थ्यले जिवनको रहन – सहनमा असरपर्छ, जस्तै: खान -पान, पारिवारीक र सामाजिक सम्बन्धहरूमा भने त्यो वेला तुरुन्त मनोरोग चिकित्सकलाई देखाउन अावश्यक हुनछ ।

मानसिक स्वास्थ्य विग्रीयो भने सबैकुरा बिग्रिदै जाने भएकोले समयमै ख्याल गर्न उहाँको सुझाव छ । मानिस सामाजिक प्राणी भएकोले उसलाई हरेक प्रकारका सम्बन्धहरूको खाँचो हुन्छ । जापानको अनेक प्रकारको तनाव यसलाई कम गर्न अझ परिवारको विशेषत भूमिका हुन्छ । आज भोली धेरैको अनुभव सुन्दा धेरै जसो व्यक्तिहरू पारिवारीक कारणले तनावमा परेको देखिन्छ कारण के त ? भनौ भने फलानोले यो गर्यो, यति कमायो, तैले के गर्दैछस् ? इत्यादी । अरूले के गर्याे भन्दा पनि आफूसँग जे छ त्यसमा रमाउन जान्नुपर्दछ ।

जापानको आफ्नो परिस्थिति र भोगाइ बताउँदा कसैले पत्यार नगर्ने कारणले आफ्नो नजिकको मानिसहरुबाट हौसला र सान्त्वना नपाऊँदा आत्मवल घट्दै जाने अवस्था छ । यस्तै साथी भाइहरुले आवश्यकता भन्दा ठुला गफ गर्ने, अरुलाई निचो देखाउने, सहयोग गर्न भन्दा वढि रिस गर्ने इत्यादि कुराहरूले पनि मानिसको आत्मबल गिराउछ। त्यसैले सके सहयोग गरौं होईन भने कसैको तनावको कारण नबनौं ।

तपाईलाई कसैको कारणले तनाव भईरहेको छ भने तनाव दिने विषयवस्तु र मानिसहरूबाट टाढै बसौं । जीवन रहे तपाईको महत्व बुझे ति सबै सम्बन्धहरु पछि तपाईलाई खोज्दै आउनेछन् । त्यसैले शारीरिक स्वास्थ्य सँगै मानसिक स्वास्थ्यको पनि ख्याल राखौ । लेखक सरू लम्साल,पोखरा ( हाल : टोकियो,जापान)

Facebook Comments