रुपातालमाथि झोलुङ्गे पुल निर्माण, पर्यटन चलायमान हुने अपेक्षा

पोखराको पर्यटकीय गन्तव्य रुपातालमाथि झोलुङ्गे पुल निर्माण भएको छ । पोखराको लेखनाथस्थित रुपातालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।

संभवत नेपालमा नै तालमाथिकाे पहिलाे झोलुङ्गे पुलले पाेखरा महानगरपालिका वडा नम्बर–३१ र रुपा गाउँपालिका वडा नम्बर–६ को जनजीवन सहज हुनेछ ।

पुल निर्माणसँगै पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ । पुल निर्माण भएर उद्घाटन नहुँदै दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् ।

सिमलटुँडामा बनेको झोलुङ्गे पुलको मंगलबार गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति तथा सांसद दीपक कोईरालाले उद्घाटन गर्नुभयाे ।

भंगारा पचभैया ट्रेल ब्रिज नामाङ्करण गरिएको सो पुल गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार ७ सय ३० रुपैयाँ लागतमा बनेको हो । पुलको लम्बाई २ सय ६९ र चौडाईं एक मिटर छ । पुलको क्षमता प्रति मिटर ३ सय १८ केजी रहेको पूर्वाधार विकास कार्यालय कास्कीका ईञ्जिनियर हरी थापाले जानकारी दिनुभयाे ।

पूर्वाधार विकास कार्यालय कास्कीले हेरेको सो पुलको निर्माण एम÷एस तेज जगदम्बा रुजान जेभी कम्पनीले गरेको हो । कोभिड महामारीका कारण ताेकिएकाे समयभन्दा झण्डै ३ बर्षपछि पुल निर्माण सम्पन्न भएकाे हाे ।

पुल निर्माणको उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति तथा एवम् सांसद दीपक कोईरालाले पुल विकास र समृद्धिको वाहक बनेर आएको बताउनुभयाे । पचभैया, सिमलटुँडालगायतका क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन याे पुलले सहयाेग पुग्ने उहाँकाे भनाइ छ ।

संघीय ब्वयवस्था भएकै कारण पुल बन्न सहयाेग पुगेकाे उहाँकाे भनाइ छ । प्रदेश सरकार भएकैले सम्भव भएको उहाँकाे भनाइ छ । पोखरा–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले पुलसँगै पर्यटक बढ्ने र यसले व्यवसाय बढाउनुका साथै रोजगारीपनि थप्ने विश्वास व्यक्त गर्नुभयाे ।

Facebook Comments