देशैभरका निर्माण व्यवसायी आन्दोलित, मुल्य बृद्धि नियन्त्रण या समायाेजन गर्न माग
देशैभरका निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन् । निर्माण सामग्रीकाे मुल्य अत्याधिक बढेकाे भन्दै ठेक्का परेका याेजनाहरूमा पुनरावलाेकन गरी रकम समायाेजन गर्नुपर्ने उनीहरूकाे माग छ ।
नेपाल निर्माण व्यवसायी महासंघको आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार कास्की जिल्लाका निर्माण व्यवसायीहरुले गण्डकी प्रदेश प्रमुख र जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिएका छन् ।
महासंघका केन्द्रिय सदस्य शुरेस श्रेष्ठको नेतृत्वमा निर्माण व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयको गेट अगाडी एक घण्टा धर्ना दिएका हुन ।
जिल्ला प्रशासन कार्यालय कास्कीको गेट सँगै उनिहरुले प्रदेश प्रमुखको कार्यालय अगाडी समेत विहान ११ देखी १२ बजेसम्म धर्ना दिएका हुन ।
धर्नामा सहभागीहरूले निर्माण सामाग्रीमा भएको अत्यधिक मुल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, बीमा निर्देशिका खारेज हुनुपर्ने लगायतका प्यलेकार्ड वोकेका थिए ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका केन्द्रिय सदस्य सुरेश श्रेष्ठले व्यवसायीहरूका मागका विषयमा प्रधानमन्त्री, मन्त्रीहरु, मुख्य सचिव, सचिवहरु लगायतलाई समयमा नै अवगत गराइए पनि सम्बोधन नभएकाले बाध्य भएर आन्दोलन गर्नु परेको बताउनुभयाे ।
महासंघका गण्डकी प्रदेश अध्यक्ष टंकराज बरालले निर्माण सामाग्रीमा भएको अत्याधिक मूल्यबृद्धिको सम्वोधन नभई सामान्य अवस्थामा नआइन्जेल कन्स्ट्रक्सन होलिडे गर्ने बताउनुभयाे ।
महासंघका कास्की जिल्ला अध्यक्ष लिलकाजी गुरुङ्गले निर्माण सामाग्रीको मुल्यबृद्धिले व्यवसायीहरु घरको न घाटको हुने अवस्थामा पुगेको उल्लेख गर्नुभयाे ।
कन्स्ट्रक्शन होलिडे को अवधिमा पनि अत्यावश्यक निर्माण कार्यलाई भने नरोकिने व्यवसायीकाे भनाइ छ ।
अप्रत्यासित रुपमा मूल्य वृद्धि हुँदा मूल्यवृद्धिलाई सम्बोधन गर्न २०६५ सालमा पनि मूल्य समायोजन मार्गदर्शन–नम्बर १ जारी गरी निर्माणकार्य सुचारु गरेको नजिर भएको र सोही नजिर अनुसार यस पटक पनि मूल्य समायोजन मार्गदर्शन– नम्बर २ जारी हुनुपर्ने माग महासंघले अघि सारेको छ ।

