कोटभैरवमा घटस्थापना र जाने मार्गको सरसफाई
पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरमा आज घटस्थापना गरिएको छ ।
प्रत्येक वर्षको आश्विन शुक्ल प्रतिपदाको दिनमा घटस्थापना गर्ने प्राचीन प्रचलन अनुरुप आज विधिवत् रुपमा घटस्थापना गरिएको कोट भैरव मन्दिर संरक्षण एवम् पूजा व्यवस्थापन समितिका कोषाध्यक्ष कर्णकुमारी महतले जानकारी दिनुभयो ।
मन्दिरमा घटस्थापना गरि दैनिक दुर्गा पाठ गरिने र सप्तमीका दिनमा फुलपाती भित्राउने, महाअष्टमी, महानवमीको विशेष पूजा गरिने उहाँले जानकारी दिनुभयो ।
मन्दिरमा विजया दशमीका दिनमा सामुहिक टिकाप्रसाद ग्रहण गर्ने प्रचलन छ । यसैबीच घटस्थापनाकै अवसरमा आज मनियलडाँडाबाट कोटभैरव मन्दिर जाने बाटो सामुहिक रुपमा सरसफाई गरिएको सिलिङ्गे महिला चेतना समूहका सचिव सीता केसी महतले जानकारी दिनुभयो ।
मन्दिरको दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण विशेषत: आश्विन शुक्ल पक्षका अवसरमा कास्की सहित स्याङ्जा, तनहुँ लगायत आसपासका स्थानबाट ठूलो सङख्यामा दर्शनार्थी आउने गरेका छन् ।

