पर्यटन दिवसमा पोखराको बन्जी नेपाललाई पर्यटन मन्त्रालयको सम्मान
विश्व पर्यटन दिवसको अवसरमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखराको बन्जी नेपाललाई सम्मान गरेको छ । मन्त्रालयका सचिव सुरेश अधिकारीले मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बन्जी नेपालका अध्यक्ष सन्तोष भट्टराईलाई सम्मानपत्र र दोसल्लाले सम्मान गर्नुभएकाे हाे ।
नेपालको साहसिक खेल पर्यटनमा उल्लेखनिय योगदान पुर्याएको भन्दै बन्जी नेपाललाई सम्मान गरेको हो । गत सालबाट सन्चालनमा आएको बहुराष्ट्रिय कम्पनी बाट फ्रेन्चाइज लिएको बन्जी नेपालले छोटो समयमा नै चर्चा कमाउन सफल भएको छ । पोखरा महानगरपालिका–१७, रातोपैरा (माउन्टेन म्युजियमको आडैमा)मा बन्जी नेपाल सञ्चालित छ ।
तनहुँको शुक्लागण्डकी–११ राइपुरमा जन्मनुभएका बन्जी नेपालका अध्यक्ष भट्टराई अन्तराष्ट्रिय जम्पमास्टर हुनुहुन्छ । उहाँले साहसिक खेल नेपाल भित्र्याउन महत्वपूर्ण भूमिका खेल्नुभएकाे थियाे ।
नेपालमा बञ्जी सम्बन्धी निति नियम निर्माणमा समेत सरकारलाई सहयोग गर्नुभएका भट्टराईसँग मकाउ, इन्डोनेसीया, जापान, रसिया लगायतका देशमा एक दशक बढि साहसिक खेलमा अनुभव छ ।
सम्मानले थप राम्रो काम गर्न हौसला मिलेको बन्जी नेपालका अध्यक्ष भट्टराईले बताउनुभयाे । पर्यटकीय, धार्मिक र ऐतिहासिक रुपमा प्रशस्त सम्भावना रहेको शुक्लागण्डकीमा समेत साहसिक खेल भित्र्यान स्थानीय सरकारले चासो र पहल गर्नुपर्नेमा उहाँकाे जाेड छ ।

