कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन गर्ने
अनुसन्धानकाे क्षेत्रमा क्रियाशील राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्ने भएकाे छ । अर्थ मन्त्रालयमा भएकाे सम्झाैता अनुसार आविष्कार केन्द्रले सरकारी स्वामित्वमा रहेकाे कृषि औजार कारखाना सञ्चालन गर्ने भएकाे हाे ।
१० वर्षका लागि सञ्चालनकाे जिम्मा पाएको राष्ट्रिय आविष्कार केन्द्रले बन्द अवस्थामा रहेकाे कारखाना पुनः सञ्चालनमा ल्याउने छ । मंगलबार अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच भएकाे सम्झौता पत्रमा पहिलाे वर्षका लागि बजेट सरकारले नै व्यवस्था गर्ने उल्लेख छ ।
अर्थमन्त्रीकाे उपस्थितिमा भएकाे कार्यक्रममा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गर्नुभएकाे छ । गत भदाै ३१ काे मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको थियाे ।
तीन महिनाको अग्रिम सूचना दिएर भने दुई पक्षले जुनसुकै बेला सम्झौता रद्द गर्न सक्ने सम्झौतामा उल्लेख छ । कारखानाको मर्मत सम्भार र मेसिनरी औजार थप गर्न आवश्यक रकम सञ्चालक समितिको सिफारिसमा पहिलो पटकलाई नेपाल सरकार अर्थ मन्त्रालयले बजेट व्यवस्था गर्ने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रले कृषि औजार कारखानामा अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालिम सञ्चालन गर्ने तथा कृषि औजार उत्पादन गर्नुपर्छे सम्झाैतामा उल्लेख छ । केन्द्रले आधुनिक कृषि औजार उत्पादन र बिक्री गर्न पाउनेछ ।
आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अनुसन्धानकाे क्षेत्रमा तल्लिन भएर कारखाना राम्राेसँग सञ्चालनका लागि काेशिष गर्ने बताउनुभयाे ।
अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमा वृर्द्धि, राेजगारी सिर्जना, आयत प्रतिस्थापनका लागि रूग्ण उद्याेग पुनः सञ्चालन गर्ने सरकारी नीति अन्तर्गत कृषि औजार कारखाना पुनः सञ्चालनकाे लागि सम्झाैता गरेकाे उल्लेख गर्नुभएकाे छ ।


