आज भाइटीका, उत्तम साइत ११ः३७ मा

नेपाल लगायत विश्वका विभिन्न भागमा बसाेबास गर्ने हिन्दुहरूले तिहार अन्तर्गत भाइटिका मनाउँदैछन् ।

हरेक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहार पर्व हिन्दु नेपालीहरूको दोस्रो ठूलो चाड पनि हाे । तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरिन्छ।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउने गरिन्छ

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।

भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएकाे छ ।

समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले आज दिनभर भाइटीका लगाउन कुनै समस्या नहुने बताउनुभयाे ।

भाइटीका लगाउँदा चन्द्रमा दाहिने पार्ने प्रचलन रहेकाे हुँदा यस वर्ष दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने धर्मशास्त्रविदहरूले जनाएका छन् ।

यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्ने धर्मशास्त्रविदहरूकाे भनाइ छ । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दीयो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने प्रचलन छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिने चलन छ ।

यस पर्वले दिदीवहिनि तथा दाजुभाइमा आत्मियता बढाउने जसले गर्दा एक आपसमा सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।

दिदी–बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिर भक्तजनका लागि खुला गरिएकाे छ ।

Facebook Comments