गाली गर्न ३ घण्टा, कर्णालीकाे आवाज उठाउन जम्मा ३ मिनेट !

नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले गाली गर्नेलाई संसदमा तीन घण्टा समय दिने तर कर्णालीको आवाज उठाउनेलाई तीन मिनेटमात्रै छुट्याएको भन्दै आपत्ति जनाउनुभएकाे छ ।

साथै उहाँले प्रतिपक्षी दलका नेताकाे बिषयमा आलाेचना गर्दा विपक्षी सांसदले संसद अवराेध गरेकाे भन्दै प्रतिकात्मक रूपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला-चाबी बुझाउनुभयाे ।

उहाँले प्रतिपक्षीले चाहेका बेला आफ्ना कुरा राख्न संसदकाे चाबी खाेल्नु, अन्यथा अरूले बाेल्दा चाबी बन्द गर्नु भन्दै बिराेध स्वरूप तालाचाबी बुझाउनुभएकाे हाे ।

‘तपाईहरू धित मरुञ्जेल बोल्नुहोला त्यसपछि हामी बोल्दा यो ताला र चाबी लगाइदिनुहोला। जतिबेला बोल्न मन लाग्छ आउनुहोला र यो ताला चाबी खोल्नुहोला अनि बोल्नुहोला,’ उहाँले भन्नुभयाे, ‘मैले सभामुखज्यूलाई बुझाएँ।’

प्रमुख प्रतिपक्षीले आफ्ना कुरा मात्रै सुनाउने तर अरूको पालो आएपछि विरोध गरी कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोधस्वरूप यस्ताे गर्नुपरेकाे सांसद महतकाे भनइ छ ।

शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले आफ्नो धारणा राख्दा एमाले सांसदले अवरोध गरेको थियो। विवाद बढ्दै गएपछि सभामुख सापकोटाले प्रयोग गरिएको अमर्यादित शब्द हटाउने निर्देशन दिनुभएकाे थियाे। 

Facebook Comments