५ दलकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा स्थानीय तहकाे निर्वाचनबारे छलफल भइरहेकाे बताइएकाे छ ।
शुक्रबार राष्ट्रपतिले प्रधानमन्त्रीसँगकाे छलफलमा स्थानीय तहकाे निर्वाचनकाे मितिबारे छलफल गरेका बिषयमा पनि गठबन्धनका नेताहरूवीच छलफल हुने श्राेतले जनाएकाे छ ।
बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने अनुमान छ । यसअघि निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।
स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन ऐन २०७३ मा उल्लेख छ । तर यसअघि ३ चरणमा निर्वाचन भएकाले फरक फरक समयमा कार्यकाल सकिने भएकाले साेबारेमा दलहरूवीच मतभिन्नता देखिएकाे छ ।
गठबन्धनका नेताहरू भने संविधानसँग उक्त प्रावधान बाझिएकाे भन्दै निर्वाचन कानुन संशाेधन गर्नुपर्ने बताउँदै आएका छन् ।
प्रतिपक्षी एमालेले भने संविधान र कानुन दुवै स्थानीय तहकाे निर्वाचन गर्न नराेक्ने बताउँदै आएकाे छ ।

