समानुपातिकतर्फ हालसम्मकाे मतगणनामा एमाले पहिलाे

संघीय प्रतिनिधिसभाकाे गत मंसिर ४ मा सम्पन्न निर्वाचनकाे समानुपातिक तर्फकाे मतगणना जारी रहेकाे छ ।

जारी मतगणनामा समानुपातिकतर्फ कुल ९५ लाख ३६ हजार ९५१ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ। एमालेले २५ लाख ७५ हजार ८७७ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ४५ हजार ५८४ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा माओवादी केन्द्रले १० लाख ९४ हजार ६०६ मतका साथ तेस्रो स्थानमा रहेको छ ।

यसपटककाे निर्वाचनमा पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएकाे राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टी भन्ने निश्चित भएकाे छ भने पहिलाे पटक निर्वाचनमा सहभागी भएकाे सिके राउत नेतृत्वको जनमत पार्टी पनि राष्ट्रिय दल बन्ने संभावना देखिएकाे छ ।

रास्वपा र राप्रपा क्रमश चाैंथाे र पाँचाै स्थानमा छन् । छैटाैं स्थानमा जसपा रहेकाे छ भने साताैं स्थानमा रहेकाे जनमत पार्टीले २ लाख ९४ हजार ४३५ मत अर्थात् सदर मतको ३.०९ प्रतिशत पाएको छ।

सप्तरी २ मा प्रत्यक्षतर्फ जनमत पार्टीका अध्यक्ष सिके राउतले जित हाँसिल गर्दा प्रत्यक्ष तर्फ जित हाँसिल नभएपनि मधेसका जिल्लाहरूमा साे पार्टीले राम्राे मत पाएकाे छ। मधेसका अरू जिल्लामा पनि उसको  बलियो मत देखिएको छ।

समानुपातिकमा थ्रेसहोल्डको मापन सदर मतमा गरिन्छ। अहिलेसम्म कति मत बदर भएको छ भन्ने एकिन तथ्यांक सार्वजनिक भएको छैन ।

Facebook Comments