लेखनाथ महाेत्सवमा हालसम्म ६ कराेडकाे काराेबार

 पुस ७ गतेदेखि लेखनाथमा जारी १८ औं संस्करणको लेखनाथ महोत्सवको हालसम्म १ लाख ४५ हजार दर्शकहरुले अवलोकन गरेका छन् । महोत्सवको सातौं दिनसम्म आइपुग्दा करिब छ करोडको कारोबार भएको महोत्सवका प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिनुभयाे ।

बिहीबार हुने लोकदोहोरी कार्यक्रम तर्फ गायकहरु चन्द्र शर्मा, प्रकाश पराजुली, नवराज अधिकारी, सुमन खड्का, गायिकाहरु सम्झना लामिछाने मगर, माया गुरुङ, दुर्गा क्षेत्री, हाँस्यव्याग्य तर्फ राजा राजेन्द्रको प्रस्तुती रहनेछ । यस्तै बेलुका हुने लाइभ कन्सर्टतर्फ र्यापर आशिष राना (लाउरे) र श्रृतु कँडेलको बेजोड प्रस्तुती रहनेछ ।

बुधबारसम्म महाेत्सवमा कुल १ लाख ४५ हजार दर्शकले अवलोकन गरीसकेका छन् भने हालसम्म ५ करोड ९० लाखको कारोबार भएको छ ।

महोत्सवमा मनोरञ्जनका लागि दैनिकजसो रत्यौली कार्यक्रमदेखि विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु भइरहेका छन् ।

निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको महोत्सवको बुधबार स्याङ्गजा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठसहित संघका महिला उद्यमीहरुसहितको टोली, फर्निचर एशोसिएसन नेपालका केन्द्रीय द्वित्तीय उपाध्यक्ष युवराज पौडेलको नेतृत्वमा जिल्ला र प्रदेशको टोलीले अवलोकन गरेका थिए ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा कुल ३३७ स्टलहरु रहेका छन् । ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउन छुट्टै बेगनास तालको डेमो तयार गरि राखिएको छ, जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ ।

यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवर्द्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन् । त्यस्तै महोत्सवमा विद्यार्थीका लागि इन्जिनियरिङ सम्बन्धी प्रदर्शनी पनि रहेको छ । आफ्नो सेवा तथा वस्तु प्रर्वद्धनका लागि पनि विभिन्न प्रतिष्ठानहरुले स्टल राखेका छन् ।

सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंकलगायत महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।

Facebook Comments