प्रचण्ड गाेरखामा मतदातासँग भेटघाटमा व्यस्त
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) यतिबेला गाेरखामा मतदातासँगकाे भेटघाटमा व्यस्त हुनुभएकाे छ ।
शनिबार र आइतबार मतदातासँग विभिन्न स्थानमा अनाैपचारिक भेटघाटमा प्रचण्डकाे व्यस्त दैनिकी बन्याे । प्रचण्डसँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेताहरू हितराज पाण्डे, लेखनाथ न्याैपाने, प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवार सुरेन्द्रराज पाण्डे, फणिन्द्रराज देवकाेटा लगायत सँगै छन् ।
साे क्रममा नेसपाका अध्यक्ष भट्टराईले मंसिर ४ मा हुने निर्वाचनपछि प्रचण्ड नै प्रधानमन्त्री बन्ने बताउनुभएकाे छ ।
गोरखाको सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा मतदाता भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डसँगै पुग्नुभएका नेता भट्टराईले यस्तो बताउनुभएकाे हाे । उहाँले मुख्यमन्त्री पनि गाेरखाबाटै बन्ने बताउने गर्नुभएकाे छ ।
माओवादी अध्यक्ष प्रचण्ड प्रतिनिधिसभा र कांग्रेसका पाण्डेकाे प्रदेशसभा सदस्यमा गोरखा २ बाट सत्ता गठबन्धनबाट उम्मेदवारी रहेकाे छ ।
प्रचण्डकाे सचिवालयका अनुसार २ दिनमा ४० भन्दा बढी स्थानमा प्रचण्डले मतदातासँग सामूहिक रूपमा भेटघाट गर्नुभएकाे छ ।

