पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ बाट सञ्चालनमा आउने, प्रधानमन्त्रीबाट उद्घाटन
पोखरामा नवनिर्मित पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्षकाे अवसरमा पारी २०२३ काे जनवरी १ बाट सञ्चालनमा ल्याएने भएकाे छ । देशकै प्रमुख पर्यटकीय सहरमा निर्माण भएकाे विमानस्थल सञ्चालनमा आउने भएपछि त्यस क्षेत्रका व्यवसायीहरू उत्साहित भएका छन् ।
पाेखरा महानगरपालिकाले समेत संस्थागत रूपमा नै उद्घाटन कार्यक्रमलाई भव्य बनाउने गरी तयारीमा लागेको छ ।
पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नुहुनेछ ।
कार्यलयका निर्देशक बिक्रम गौतमले अनुसार सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा विमानस्थल उद्घाटन कार्यक्रमको अन्तिम तयारीमा रहेकाे जानकारी दिनुभयाे । नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद् लगायत पर्यटन सङ्घ संस्थाहरुको सहभागिता रहने बताइएकाे छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका अनुसार विमानस्थल उद्घानका दिन विहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुहरुलाई फूलमालाले स्वागत गरिने छ ।
त्यसैगरी विहान ११ः०० बजेपछि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ भने अपरान्ह २ बजेपछि ‘सेलिब्रेशन’को कार्यक्रम छ । पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातीका झाँकी, फेसन सो लगायतका कार्यक्रमहरुका साथ उद्घाटन समारोहलाई भव्य बनाइने निर्देशक गौतमले बताउनुभयो ।
अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन कार्यक्रमलाई थप व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले पनि काम सुरु गरेको छ । महानगर समरोह भव्य बनाउने गरी जुटेको छ । उद्घाटन समारोहपछि सेलिव्रेशनको जिम्मा महानगरको छ ।
महानगरले विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न जातजातिका मौलिका झाँकी अभिनन्दन कार्यक्रम, विभिन्न सांस्कृतिक प्रस्तुती र सेलिव्रेशन गरिने जनाएको छ । विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठक लगायतलाई रथारोहण सहित अभिनन्दन गरिनेछ । महानगरले उद्घाटनलाई लक्ष्य गरी यही पुस १३ गते लेकसाइडदेखी कोत्रेसम्म राजमार्गमा बृहत् सरसफाई कार्यक्रम गरेको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भन्दै यसको उद्घाटन कार्यक्रमलाई व्यवस्थित रूपमा भव्य र सभ्य बनाउनु पर्ने महानगरका मेयर धनराज आचार्यले बताउनुभयो ।
यो दशकौँ लामो पोखरेलीहरूको सपना मात्र नभए पश्चिम क्षेत्रकै ‘लाइफलाइन’का रूपमा रहेको विमानस्थल भन्दै यसको कुशल र व्यवस्थित सञ्चालन महत्वपूर्ण हुने बताउनुभयो ।
विमानस्थलको उद्घाटनका दिनदेखीनै सबै आन्तरिक उडानहरु सोही विमानस्थलबाट हुनेछन् । नीजि विमान कम्पनीहरुले नयाँ विमानस्थलबाट उडान सुरु गर्नका लागि कार्यालय व्यवस्थापन लगायत तयारी सकेका छन् । बुद्ध, यति र सौर्य एयरले परीक्षण उडान समेत सम्पन्न गरेका छन् । बुद्ध एअरले पाेखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरिरहेकाे छ ।
पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको र विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रले बढी लाभ लिने भएकाले समेत पर्यटन व्यवसायी उत्साहित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।
पोखरा विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीइले निर्माण गरेको हो । चीनको एक्जिम बैँङ्कको रु २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विसं २०३२ मा जमिन अधिग्रहण गरिएपनि चार दशकपछि बल्ल विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकामा विसं २०७४ देखी निर्माण कार्य सुरु भएको हो ।
यसअघि गत वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो ।

