असल कृषि र पशुपालनमा लाग्न प्रधानमन्त्रीकाे आह्वान
हरेक वर्ष ७ जुनका दिन मनाइने विश्व खाद्य स्वच्छता दिवस नेपालमा पनि मनाइँदैछ । यस वर्ष संयुक्त राष्ट्र संघले वर्ष २०२३ को लागि ‘खाद्य स्वच्छताले जीवन बचाउँछ’ भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ भने नेपालमा ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ भन्ने नारासहित जेठ १८ गतेदेखि २४ गतेसम्म साताव्यापी रुपमा यो दिवस मनाइँदै छ ।
दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानहरुलाई असल कृषि र पशुपालन अभ्यास अवलम्बनका लागि आह्वान गर्नुभएकाे छ ।
प्रधानमन्त्रीकाे सन्देशमा नागरिकको जीवन रक्षाका लागि खाद्य स्वच्छताको सुनिश्चितत हुनु जरुरी रहेकाे उल्लेख छ । अखाद्य तथा गुणस्तरहीन खाद्य वस्तुको उपभोगले आम जनसमुदायको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुँदा खाद्य वस्तुको उत्पादन, उपभोग तथा बजारीकरणमा स्वच्छता र गुणस्तर कायम राख्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिने गरेकाे प्रधानमन्त्रीले सन्देशमा बताउनुभएकाे छ ।

