एसईईको नतिजा सार्वजनिक, त्रुटी सच्याउन ६ महिना
राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा बिहीबार सार्वजनिक गरेको छ ।
बाेर्डले नतिजा सार्वजनिक गर्न गरेकाे पत्रकार सम्मेलनमा गत वर्षको तुलनामा यस वर्ष समग्र नतिजामा सुधार देखिएको जनाएको छ ।
गणित, अर्थशास्त्र र ऐच्छिक गणितमा भने नतिजा कमजाेर छ । ती विषयमा धेरै विद्यार्थीकाे ग्रेड न्यून छ ।
बोर्डका अनुसार यस पटकको एसईईमा सहभागी ४ लाख ८४ हजार ९ सय ३९ विद्यार्थी सहभागी थिए । जस मध्ये २२ हजार ४ सय ७५ (४.६३ प्रतिशत) जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन् । यस्तै ३.२ देखि ३.६ जीपीए प्राप्त गर्ने विद्यार्थी ५५ हजार ६९ जना अर्थात् ११.३६ प्रतिशत छन् । २.८ देखि ३.२ जीपीए ल्याउने करिब १४ प्रतिशत अर्थात् ७२ हजार ३ सय ६२ जना छन् । जीपीए २.४ देखि २.८ प्राप्त गर्ने विद्यार्थीको संख्या ८९ हजार ३ सय ३१ जना अर्थात् १८.४२ छ ।
| ग्रेड | यस वर्ष प्रतिशतमा | गतवर्ष प्रतिशतमा |
| ए प्लस (३.६ देखि ४) | ४.६३ | १.९६ |
| ए (३.२ देखि ३.६) | ११.३६ | ८.४ |
| बी प्लस (२.८ देखि ३.२) | १४ | १४ |
| बी (२.४ देखि २.८) | १८.४२ | १८.३१ |
| सी प्लस २.० देखि २.४ | २१.०९ | २२.७४ |
| सी १.६ देखि २.० | १८.२४ | २०.३० |
| डी प्लस १.२ देखि १.६३ | ७.९९ | ९ |
| डी ०.८ देखि १.२ | ०.४५ | ०.६६ |
| नतिजा रोकिएको | २.६९ |
यस वर्ष २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थी सबैभन्दा धेरै छन् । यस वर्ष २१.०९ प्रतिशत अर्थात् १ लाख २ हजार २ सय ९३ जनाले उक्त जीपीए ल्याएका छन् । जीपीए १.६ देखि २.० प्राप्त गर्ने ८८ हजार ४ सय ४७ जना अर्थात् १८.२४ प्रतिशत छन् । यस्तै १.२ देखि १.६३ जीपीए प्राप्त गर्ने ८ हजार ७ सय ७० अर्थात् ७.९९ र यस वर्ष २ हजार २ सय अर्थात् ०.४५ प्रतिशत विद्यार्थीले जीपीए ०.८ देखि १.२ ल्याएका छन् । १३ हजार ९ सय ९२ विद्यार्थीको नतिजा भने विभिन्न कारणले रोकिएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले समग्रमा गत वर्षको तुलनामा यस वर्ष नतिजामा सुधार आएको बताएउनुभयाे। यसवर्ष नियमित कक्षा सञ्चालन राम्रो भएकाले नतिजामा सुधार आएको बाेर्डकाे जिकीर छ ।
एसईईमा सहभागी विद्यार्थीमध्ये २ लाख २ सय ६८ विद्यार्थी अर्थात् करिब ४१ प्रतिशतले गणितमा कमजोर ग्रेड ‘डी र ई’ ल्याएका छन्, सबैभन्दा तल्लो ‘ई’ ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या मात्रै १ लाख ५५ हजार रहेको छ ।
२० भन्दा पनि कम अंक भए ‘ई’ ग्रेड दिइन्छ । पछिल्लाे ग्रेडिङ प्रणालीमा गणना गर्दा २० भन्दा कम ल्याउने विद्यार्थी नन ग्रडिङमा परी ११ कक्षा पढ्न अयाेग्य हुनेथिए ।
नामथर र जन्ममिति ६ महिनाभित्र सच्याउन सकिने
यसैवीच माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन सकिने छ ।
राष्ट्रिय परीक्षा बोर्डले ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष निवेदन दिनुपर्ने जनाएकाे छ ।
प्राप्त निवेदन अनुसार प्रमुख जिल्ला अधिकारीले फैसला पर्चा र सिफारिस गरेको आधारमा मात्रै बोर्डले नाम, थर र जन्ममिति सच्याउन मिल्छ ।

