इजरायलमा १० नेपाली विद्यार्थीकाे मृत्यु

दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा प्यालेस्टिनी विद्राेही समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएको पुष्टि भएको छ  ।

विद्यार्थीहरूको शनिबार दिउँसोबाट नेपाली दूतावाससँग सम्पर्क टुटेका उनीहरूकाे मृत्यु भएकाे इजराइलका लागि नेपाली राजदूत कान्ता रिजालले जानकारी दिनुभएकाे छ ।

किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । घाइते विद्यार्थीहरुलाई तुरुन्त उपचारको प्रबन्ध गर्न इजराइलको सबै तहमा प्रयास गरेपनि सफल नभएकाे नेपाली दुतावासले जनाएकाे छ ।

४ जना घाइतेकाे उपचार भइरहेकाे र एक जना बेपत्ता रहेकाे जनाइएकाे छ ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका ती विद्यार्थीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए ।

यो विश्वविद्यालयले सेदोत नेगेभ कृषि तालिम केन्द्रमा ४९ जना नेपाली विद्यार्थीहरु पठाएकामा ६ वटा समूहमा बिभाजन गरी अलग–अलग कृषि फार्ममा पठाइएकाे थियाे ।

३२ जना कृषि विद्यार्थीहरु भने बिभिन्न कृषि फार्ममा रहेको वंकरमा सुरक्षित रहेकाे जनाइएकाे छ ।

यसैवीच परराष्ट्र मन्त्रालयले आपतकालीन सम्पर्कका लागि सम्पर्क व्यक्ति ताेकेकाे छ । इजरायलमा विकसित पछिल्लो घटनाक्रममा कारण अलपत्र पर्नुभएका नेपालीहरूलाई आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि परराष्ट्र मन्त्रालयकी प्रवक्ता एवं सहसचिव सेवा लम्साल ९८१३१०२२९, शरदराज आरण, सह-सचिव, परराष्ट्र रिपोर्ट ९८४४४९५८५८, दुर्पदा सापकोटा, उप-सचिव, परराष्ट्र सूचना ९८४१४०३३६२ र कृष्ण सिलवाल, शाखा अधिकृत, परराष्ट्र मन्त्रालय ९८४९१७९५२० लाइ सम्पर्क गर्न सकिने उल्लेख छ । त्यस्तै इमेल: save@mofa.gov.np मा पनि सहजीकरणका लागि अनुराेध गर्न सकिनेछ ।

इजरायलकाे तेल अविवमा रहेकाे नेपाली राजदुतावासमा राजदूत कान्ता रिजाल (+९७२५४५८६४४२३) र अर्जुन घिमिरे (+९७२५२८२८९३००) लाइ फाेनमा वा दुतावासकाे इमेल: nepalembassy@012.net.il मा सम्पर्क गर्न सकिने जनाइएकाे छ । यसैवीच चाडाे उद्दारकाे प्रबन्ध मिलाउन बंकरमा फसेका नेपाली विद्यार्थीले सन्देश मार्फत् अनुराेध गरेका छन् ।

Facebook Comments