सत्ता गठबन्धनकाे साझा न्यूनतम कार्यक्रम सार्वजनिक
सरकार संचालन गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले सत्तारुढ दलका तर्फबाट साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकाे छ । संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त साझा न्यूनतम कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएकाे छ ।
न्यूनतम कार्यक्रममा सरकारले ज्येष्ठ नागरिककाे स्वास्थ्याेपचार, नागरिकहरुलाई सरकारले उपलब्ध गराउने विभिन्न सेवा सुविधाकाे गुणस्तर सुधार, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रका विकृतिहरु सुधार्ने, बिग्रेको आर्थिक अवस्था सुधार ल्याउने लगायतका बिषय समावेश छन् ।
साथै छिमेकी मुलुकहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध राख्ने लगायतका विषयहरुकाे साथै सत्तासाझेदार ७ दलले गत मंसिर ४ मा सम्पन्न भएकाे निर्वाचनका दाैरान मतदातासमक्ष गरेका प्रतिबद्धताहरु समेत न्यूनतम कार्यक्रममा समेटिएकाे छ ।
प्रधानमन्त्री प्रचण्डले भाेली मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासकाे मत लिने कार्यक्रम तय भएकाे छ ।

