प्रचण्डलाई संसदकाे प्रचण्ड मत
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्नुभएकाे छ । प्रधानमन्त्री प्रचण्डलाई सांसदहरूकाे असाधरण मत परेकाे छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरे भने विपक्षमा २ जना सांसदले मतदान गरे । आजको बैठकमा २७० जना उपस्थित थिए ।
प्रधानमन्त्रीलाई स्वयंकाे दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन् ।
प्रधानमन्त्रीलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले विपक्षमा मतदान गरेका हुन् । यसैवीच २०७९ साल माघ ५ गते प्रतिनिधिसभाकाे सभामुख चयनका लागि निर्वाचन हुने भएकाे छ ।

