मोरक्कोमा शक्तिशाली भूकम्पमा २ हजार बढी मृत्यु, ठूलाे संख्यामा घाइते
मोरक्कोमा शक्तिशाली भूकम्पका कारण २ हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार रातिसम्म १ हजार ४ सय जना गम्भीर घाइते रहेको बीबीसीले उल्लेख गरेको छ । मोरक्कोका आन्तरिक मामिला मन्त्रालयले भूकम्पका कारणा ठूलाे जनधनकाे क्षति भएकाे जनाएकाे छ । थुप्रै भवन तथा भौतिक संरचना भत्किएका र भत्किएका संरचनाहरूमा अझै मानिसहरू पुरिएर रहेको हुन सक्ने बताइएकाे छ ।
अमेरिकन जिओलोजिकल सर्भेका अनुसार मोरक्कोको माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेनलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ६.८ म्याग्निच्युडको भूकम्प आएको हो । स्थानीय समयअनुसार राति ११ बजे आएको भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको बताइएको छ ।

भूकम्पबाट ठूलो संख्यामा मानिसहरू घाइते भएपछि उपचारका क्रममा रगत अभाव भएकाे छ भने स्थानीयहरूले आकस्मिक रक्तदान गरिरहेका छन् । घाइतेहरूको उद्धारका लागि सरकारी अधिकारीसहित स्वयंसेवकहरू खटिरहेका छन् । रेडक्रसकाे अन्तर्राष्ट्रिय महासंघले पनि उद्दार टाेली तत्काल पठाउने जनाएकाे छ ।
यसअघि सन् २००४ मा शक्तिशाली भूकम्प जाँदा ६ सय २८ जनाको मृत्यु भएको थियो भने त्यस्तै १९६० को शक्तिशाली भूकम्पमा १२ हजारको ज्यान गएको थियो । माेरक्काे भूकम्पकाे जाेखिम रहेकाे मुलुकमा पर्दछ ।

