ठूला मान्छेलाई कानुन लाग्दैन भन्ने भ्रम ताेडिएकाे छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामान्य नागरिकका आवाजलाई सम्बोधन गर्न सरकार लागिपरेकाे बताउनुभएकाे छ ।उहाँले कानुन सामान्य नागिरक, गरिब र निमुखालाई मात्र हाे भन्ने खालकाे विगतदेखिकाे भ्रम याे सरकारले ताेडेकाे पनि बताउनुभएकाे छ ।
गाेरखाकाे सिरानचाेक गाउँपालिकामा भएकाे कार्यक्रममा बाेल्दै प्रधानमन्त्री प्रचण्डले ठूला नेता, मन्त्री, सचिव पदाधिकारीलाई समेत कानुन बमाेजिम कारवाही गरेकाे बताउनुभयाे ।
साथै प्रधानमन्त्री प्रचण्डले ललिता निवासजस्तै सरकारी जग्गा व्यक्तिको नाममा ल्याएर माफियागिरी गर्ने हजारौं केस रहेको उल्लेख गर्दै क्रमशः त्यस्ता फाइल खोल्ने बताउनुभयाे ।
उहाँले अनेक जालझेल गरेर सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने माफियागिरी देशभर नै रहेको उल्लेख गर्नुभयाे । सरकारकाे उद्देश्य कसैलाई फसाउने नभएकाे उल्लेख गर्दै प्नधानमन्त्री प्रचण्डले जालझेल गरेर सरकारको जग्गा कसैको नाममा लगेको भए कारबाही हुने बताउनुभयाे ।
सुन तस्करीको जालो तोड्न अनुसन्धान प्रक्रिया अगाडि बढाउँदा सेटिङमा संलग्न २७/२८ जना गिरफ्तार भएकाे र त्यसमा यो पार्टी त्यो पार्टी भन्ने छैन, जुन पार्टीका जुनसुकै स्तरका नेता कार्यकर्ता भए वा जुनसकै स्तरका कर्मचारी भए पनि उनिहरुमाथि कारबाहीको प्रक्रिया अघि बढेको प्रधानमन्त्रीकाे भनाइ थियाे ।
गाेरखामा नै भएकाे अर्काे वाइसीयलकाे एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले माओवादी केन्द्रलाई पुन: जनताको पार्टीको रुपमा स्थापित गर्ने बताउनु भयाे ।
सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आउनु भएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।
सहिदका सपना पुरा गर्ने जिम्मेवार काँधमा छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरेश वाग्लेवासु´ लगायत हजारौं सहिदहरूको सपना पूरा गर्ने जिम्मेवारी काँधमा रहेको बताउनुभयो ।
सुरेश वाग्लेले अध्यापन गराउनु भएको श्री जनता माध्यमिक विद्यालयमा आयोजित सहिद सुरेश वाग्ले (वासु) र भीमसेन पोख्रेलको २४ औं स्मृति सभा तथा सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुएको हो ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले जनयुद्धका सहिदहरूलाई स्मरण गर्दै माओवादीले उठाका मुद्दा र जनताको चाहाना पूरा गर्न अझै बाँकी रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री बनेपछि सरकारले जनयुद्ध र जनयुद्धका सहिद बेपत्ता र योद्धालाई सम्मान गर्ने वातावरण बनाएको बताउनुभयो । त्यसको सुरुवात जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदहरूलाई राष्ट्रिय सहिदको घोषणा गरेर राजपत्रमा प्रकाशित गरी जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरेर गरिएको बताउनुभयो ।
अहिले सत्य निरोपण तथा बेपत्ता सम्बन्धि बिधयेक प्रक्रियामा रहेको बताउँदै पारित भएपछि देशैभर सहिद बेपत्ता परिवारको सम्मान हुने बताउनुभयो ।

