एमालेलाई बहुमत दिएपछि देशले यस्तो अवस्था भोग्नुपर्दैन: उपमहासचिव गुरुङ
नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सत्ताधारी दलका नीतिका कारण देशको हालत बर्बादी उन्मुख भएको बताउनुभएकाे छ ।
पार्टीको धादिङ–पोखरा सम्पर्क मञ्चको शनिबार पोखरामा सम्पन्न १२ औं साधारणसभा तथा छैटौं अधिवेशनमा प्रमुख अतिथि गुरुङले गत निर्वाचनमा एमालेलाई बहुमत नदिँदा यो परिणाम भोग्नुपरेको उल्लेख गर्नुभयाे ।
उहाँले कर्मचारी तलब खान नपाएकाे, सरकारी विकास निर्माण आयोजनाका ठेकेदारहरुलाई दिने पैसा नभएकाे तथा अर्थतन्त्र डामाडोल भएकाे बताउनुभयाे ।
चुनावमा एमालेलाई जनताले नचिनेर, अझै चिन्न नसकेर पो परिणाम भोग्नुपरेको ०८४ मा एमालेलाई बहुमत दिएर एकल सरकार सञ्चालनको जिम्मा लगाए देश बन्ने जिकीर उपमहासचिव गुरुङको जिकीर थियाे ।
माओवादी, माधव नेपाल, काँग्रेसको भ्रममा जनता परेकाले पनि यस्तो परिणाम आएको उहाँकाे तर्क थियाे ।
उक्त अवसरमा मञ्चद्वारा आयोजित विभिन्न कार्यक्रमका संयोजकहरुलाई सम्मान पनि गरिएको थियो । निवर्तमान अध्यक्ष वीरबहादुर थापा, रक्तदान कार्यक्रम संयोजक यार्मिला तामाङ, क्यालेण्डर प्रकाशन संयोजक हरिकृष्ण श्रेष्ठ, न्यानो कपडा वितरण अभियान संयोजक मिलन सुनारलाई सम्मान गरिएको थियो ।
यस्तै, नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा धादिङ घर भई पोखरामा स्थायी वा अस्थायी बसोबास गर्दै आएका चेलीबेटीबीच भेटघाट कार्यक्रम पनि सम्पन्न भयो ।

