३५० भन्दा बढी नेपाली इजरायलबाट फर्कन इच्छुक

 इजरायलमा रहेका ३५० भन्दा बढी नेपालीले घर फर्कन इच्छुक देखिएका छन् । नेपाली दूतावासले नेपाल फर्कन इच्छुकहरूका लागि अनलाइन रजिष्ट्रेसनका लागि अनुराेध गरेकामा ३५० बढीले नेपाल फर्कनका लागि नाम दर्ता गरेका हुन् ।

तेल अविवमा रहेको नेपाली दूतावासले अनलाइन रजिष्ट्रेशनमा मंगलबार साँझसम्म ३५० भन्दा बढीको विवरण प्राप्त भएको र उनीहरुको स्वदेश फिर्तीको प्रकृया सुरु गरिसकेकाे जनाएकाे छ ।

इजरालयमा हमास समूहको आक्रमणबाट १० जना नेपालीकाे मृत्यु भएकाे थियाे भने घाइते ४ जनाकाे उपचार भइरहेकाे छ ।

एक जना नेपाली विद्यार्थीकाे अवस्था अज्ञात रहेकाले खाेजी कार्य जारी रहेकाे र ७२ जना नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको पनि दूतावासले जनाएकाे छ ।

Facebook Comments