पोखरा महोत्सवः चिडियाखाना अवलोकनका लागि निःशुल्क यातायातकाे ब्यवस्था
पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवबाट पोखरामा निर्माणाधिन चिडियाखानाको अवलोकनको लागि निःशुल्क बसको ब्यवस्था गरिएको छ ।
महोत्सवमा आउने दर्शकले टिकट काटेर महोत्सवको अवलोकन संगै महोत्सव स्थलबाट दिउसो एकबजे र चार बजे गरी दुई सिफ्टमा निशुल्क बस सेवा उपलब्ध गराइएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिनुभयाे ।
महोत्सव प्रवेश टिकटपछि दर्शकले निशुल्क रुपमा बस सेवाको उपलब्ध गराउने र चिडियाखाना पुगेपछि भने दर्शकले टिकट काट्नुपर्नेछ । चिडियाखाना अवलोकनको लागि विद्यार्थीलाई १५ र सर्वसाधारणका लागि २५ रुपैया टिकट लाग्नेछ ।
युनाइटेड क्लबले महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनका लागि पोखरामा खुल्ला चिडियाखाना निर्माणको पहलकदमी थाल्दै आएको र एघारौं संस्करणको पोखरा महोत्सव सम्म आइपुग्दा चिडियाखाना निर्माणको कार्य तीब्र गतिमा वढिरहेको छ ।
चिडियाखाना अवलोकनमा जाने दर्शकहरुले निलगाइ, हुचिल, इजिप्सियन भल्चर, मृग, बांदर लगायतका जीवजन्तुहरुको अवलोकन गर्न पाउनेछन । महोत्सवको दोश्रो दिन दर्शकहरुको उल्लेख्य सहभागिता रहेको समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिनुभयाे ।
महोत्सवमा बिहीबार दर्शकहरुलाइ लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, बबिता बानिया (जेरी), शिवहरी ढुंगाना, कृष्ण सुवेदी, जीवन सिग्देल, प्रदिप त्रिपाठी, दुर्गा क्षेत्री, तुलसा जि.सी. नवराज अधिकारी लगायतले लोकदोहोरी मार्फत मनोरन्जन प्रदान गरेका थिए भने हास्य ब्यङ्ग्य तर्फ कमेडियन जादुगर दिपक थापा मगरले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । सांझको कन्सर्ट तथा लाईभ ब्याण्ड तर्फ द स्क्रयाच जर्नीको प्रस्तुती बाट युवाहरुले मनोरन्जन लिएका थिए ।
महोत्सवमा शुक्रबार लोकदोहोरीतर्फ चन्द्र शर्मा, जीवन दाहाल, कुमार पुन, शिवहरी ढुंगाना, लक्ष्मी नेपाली, इन्द्रा गुरुङ, केशव देवकोटा, रचित पौडेल, तुलसा जिसीको प्रस्तुती रहनेछभने सांझको लाईभ ब्याण्ड तर्फ अभय एण्ड द स्टीम इन्जीन्सको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

