इजरायलबाट विद्यार्थी ल्याइँदै
स्वदेश फर्कन चाहने करिब साढे दुई सय विद्यार्थीलाई लिन नेपाल एअरलाइन्सकाे विमान त्यसतर्फ प्रस्थान गरेकाे छ।
विद्यार्थी लिनका लागि परराष्ट्रमन्त्री एनपी साउद पनि इजरायल प्रस्थान गर्नुभएकाे छ । नेपाल एयरलाइन्सको विमानबाट इजरायलमा रहेका र स्वदेश फिर्ता हुन चाहने विद्यार्थीलाई नेपाल फर्काउन लागिएकाे हाे ।
यसअघि इजरायल सरकारसँगकाे समन्वयमा जोखिममा रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा सारिसकिएको परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।
इजरायल र हमासबीच युद्ध जारी रहेकाे छ । हजाराैंकाे हताहती भएकाे छ जसमा १० जना नेपालीकाे समेत मृत्यु भएकाे थियाे । केही घाइते छन् भने त्यहाँ रहेका नेपालीले अझै पनि जोखिममा रहेको भन्दै छिटाे नेपाल फर्कने वातावरणका लागि अनुराेध गरिरहेका छन् ।
जहाजकाे भाडा नेपाल सरकारले तिर्ने गरी नेपाल एअरलाइन्सकाे जहाज इजरायलय तर्फ गएकाे हाे । इजरायलमा रहेका नेपाली आफैं टिकट काटेर नेपाल फर्किएमा नेपाल सरकारले साे रकम फिर्ता दिने समेत जनाएकाे छ ।
इजरायलमा हाल केयर गिभरसहित ४ हजार ५ सय नेपाली रहेकामा २ सय ६५ जना इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत विभिन्न कृषि फार्ममा कार्यरत रहेका विद्यार्थी हुन् । इजरायलकाे कृषि प्रविधि विश्वमै प्रख्यात छ ।

