हावाहुरी किन चल्दैछ, सावधान हुनुहाेस्
पछिल्ला दिनमा देशका विभिन्न भूमागमा हावाहुरी चल्ने चट्यागं पर्ने भइरहेकाे छ । काठमाण्डाै लगायत देशका विभिन्न स्थानमा आइतबारकाे हावाहुरीका कारण ठूलाे भाैतिक क्षति पनि भयाे । चट्याङ्गका कारण कतिपय स्थानमा नागरिककाे ज्यान नै गुमेकाे पनि छ । माैसममा पछिल्ला दिनकाे याे बदली अझ केही दिन रहने देखिएकाे छ ।
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मंगलबार कर्णाली, गण्डकी, कोशी प्रदेशको माथिल्लो भूभागमा माैसममा सामन्य बदलीको अवस्था रहेको छ ।
दिउँसोपख देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेकाे माैसम बुलेटिनमा उल्लेख छ ।
त्यस्तै कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानहरूमा हावाहुरीको संभावना रहेको पनि माैसम बुलेटिनमा उल्लेख गरिएकाे छ ।
बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक शक्तिशाली चक्रवातकाे प्रभाव भने नेपालमा नरहेकाे माैसमविद्हरूले जनाएका छन् ।

