शिवरात्रीः देशैभरका शिव मन्दिरहरूमा दर्शनार्थीहरूकाे घुइँचाे
महाशिवरात्रीका अवसरमा देशैभरका शिव मन्दिरहरूमा दर्शनार्थीहरूकाे घुइँचाे लागेकाे छ । शिवरात्रीका अवसरमा काठमाण्डाैस्थित पशुपतिनाथ मन्दिरमा लाखाैं भक्तजनले दर्शन गरेका छन् ।
पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रीका अवसरमा पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो ।
महाशिवरात्रिका अवसरमा कोषको विशिष्ट अतिथिका रुपमा आउनुभएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले अहिले पञ्चामृत स्नानसहितको विशेष पूजा गर्नुभयाे भने राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुकी पूजा एवं दर्शन गर्नुभएकाे छ ।
शिवरात्रीकै दिन नेपाली सेना दिवसको कार्यक्रममा अतिथिका रुपमा आएका भारतीय सेनाका चार पूर्वप्रधानसेनापतिले पनि आज पशुपतिनाथ मन्दिरमा दर्शन गर्नुभएकाे छ ।
भारतबाट हरेक वर्ष जस्तै यस वर्ष समेत हजाराैं साधुसन्त आएका छन् । यसरी आउने नागाबाबाहरूलाई भोजन, आवास र धुनीको व्यवस्था गुठी संस्थानले गर्दछ ।
तनहुँकाे करापुटारमा शिवरात्रीका अवसरमा मेला नै लागेकाे छ त्यस्तै स्याङजाकाे छायाक्षेत्र मन्दिरमा पनि दर्शनार्थीकाे घुइँचाे लागेकाे छ । देशका विभिन्न स्थानमा रहेका शिवमन्दिरहरूमा बिहानै देखि भक्तजनकाे घुइँचाे लागेकाे थियाे । साँझ धुनी जगाउने तथा प्रसाद बनाएर सामुहिक रूपमा खाने तथा भजन गाएर रमाइलाे गर्ने प्रचलन छ ।

