अर्थतन्त्र सुधारको लागि ठोस प्याकेज ल्याउँदैछौ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको सुधारको लागि सरकारले केहि दिनपछि ठोस प्याकेज ल्याउन लागेको बताउनुभएकाे छ ।

आज तनहुँको आबुखैरनीमा आय‍ोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू सरकारमा आउँदा अर्थतन्त्रको अवस्था राम्रो नभएको र त्यो हाल सुधारउन्मुख रहे पनि दबाबमुक्त नरहेको बताउनुभयाे ।

त्यस्तै उहाँले चुनौतीपूर्ण अवस्थाको अर्थतन्त्रलाई सुधार गर्न केहि दिनपछि ठोस प्याकेज ल्याउने जानकारी समेत गराउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ। तर दबाबमुक्त भइसकेको छैन । मंसीर ४ गते मैले अर्थतन्त्र सुधार्न बृहत बैठक बोलाएको छु। त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनेछ। उक्त बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याइनेछ ।’

साे अवसरमा प्रधानमन्त्री प्रचण्डले जनताको ठूलो संघर्ष र बलिदानबाट पाएको अधिकार सामन्ती तत्वलाई नपचेको र त्यसलाई उल्ट्याउने प्रयास भैरहेको समेत उल्लेख गर्नुभयाे ।

उहाँले जनताले संघर्ष गरेर पाएको अधिकार उल्टाउने कोसिस गरिएको भन्दै १२ बुँदे पक्षधर एकठाउँमा रहेको र त्यसलाई परास्त गर्ने बताउनुभयाे ।

“नेपाली जनताले निकै ठूलो संघर्ष र बलिदान गरेका कारण देशमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगले अधिकार पाएका छन्। केही सामन्ती तत्वलाई जनताले अधिकार पाएको कुरा पचेको छैन। उनीहरू विभिन्न षड्यन्त्रमा लागेका छन्। बिहान मात्रै मैले सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरेको थिए। देशको सुरक्षा अवस्था सामान्य छ । १२ बुँदे समझदारीका पक्षधर शक्ति परिवर्तनको रक्षाका निम्ति एकैठाउँ छौं। त्यसैले प्रतिगामी दुस्साहसलाई दृढताका साथ परास्त गर्नेर्छौं।“

प्रधानमन्त्री दाहालले सरकारले राम्रो काम गरेका कारण प्रतिगामीहरू आत्तिएका जिकिर समेत गर्नुभयाे ।

Facebook Comments