राष्ट्रपति निर्वाचन: संघीय संसद भवनमा मतदान हुने
फागुन २५ गतेका लागि ताेकिएकाे राष्ट्रपति निर्वाचनका लागि तयारी भइरहेकाे छ ।
निर्वाचन आयोगले तयारी अघि बढाउने क्रममा निर्वाचन अधिकृत र मतदान स्थल तय गरेकाे छ ।
जस अनुसार संघीय संसद भवन परिसरमा मतदानका लागि व्यवस्थापन गरिने तथा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकिएको आयोगले जनाएकाे छ ।
आयोगले जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ। राष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन्। जसअनुसार सातै प्रदेशका प्रदेश सभा सचिवालयले मतदाताका नाम पठाइसकेका छन्।
राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने तालिका छ ।
दलहरूले अहिलेसम्म उम्मेदवारकाे टुंगाे लगाउन सकेका छैनन् । एमाले र कांग्रेसल राष्ट्रपतिमा दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा राष्ट्रिय सहमति बनाउनुपर्ने बताउँने गर्नुभएकाे छ । नेकपा माओवादी केन्द्रले पनि राष्ट्रपति चुनावमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने जनाएकाे छ ।
तर नेकपा एमालेका नेताहरूले भने पाैष १० काे सहमति अनुसार राष्ट्रपति एमालेबाट हुनुपर्ने बताइरहेका छन्।
नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ । कतिपय त राष्ट्रपति निर्वाचनका कारण सत्ता गठबन्धन नै भत्कन सक्ने बताउँछन् ।

