शिक्षक आन्दोलनः वार्तामा जुट्ला त सहमति
विगत ३ दिनदेखि आन्दोलनरत शिक्षक र सरकारबीच शुक्रबार बिहान औपचारिक वार्ता भइरहेकाे छ। बिहान ८ बजे सुरू भएकाे वार्तामा शिक्षकले उठाएका मागका बिषयमा छलफल हुने बताइएकाे छ।
यसअघि बुधबार र बिहीबार पनि आन्दोलनरत शिक्षकका प्रतिनिध र सरकारका मन्त्रीहरू सहित छलफल भएकाे थियाे ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले शुक्रबारकाे वार्तामा सहमति हुने र बन्द रहेका शैक्षिक संस्था खुल्ने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयाे ।
शिक्षकहरूले उठाएका कतिपय मागहरू संविधान नै संशोधन गर्नुपर्ने खालको रहेकाे सरकारी पक्षकाे दावी छ ।
शिक्षक महासंघले अस्थायी प्रकृतिका शिक्षकलाई विगतका सहमतिका आधारमा स्थायी गर्नुपर्ने, विद्यालय कर्मचारीको दायीत्व संघीय सरकारले वहन गर्नुपर्ने माग राखेकाे छ ।
त्यस्तै इसिडि शिक्षकलाई प्राथमिक तृतीय शिक्षक सरहको दरबन्दीमा लैजानुपर्ने, संघीय शिक्षा ऐन जारी हुनुभन्दा अगाडि नियुक्त भएका शिक्षकहरूको हकमा पुरानै प्रणाली अनुसार पेन्सन हुनुपर्ने, अस्थायी प्रकृतिका शिक्षक स्थायी भएमा पेन्सन प्रयोजनका लागि अस्थायी सेवाअवधि गणना हुनुपर्नेलगायत माग अघि सारेको छ।
शिक्षक कर्मचारीमाथि कारबाहीको अधिकार स्थानीय तहमा दिँदा पालिकाबाट ज्यादती सहनु परेको शिक्षकहरूकाे भनाइ छ ।

