शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिने चरणमाः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिने क्रममा रहेकाे बताउनुभएकाे छ ।
संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रमुख एजेण्डा शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्याउनु रहेकाे उल्लेख गर्नुभयाे । उहाँले नेपालमा सहमतिमा शान्ति प्रक्रियामार्फत सफलतापूर्वक काम गरेकाे उल्लेख गर्नुभयाे ।
साथै प्रधानमन्त्री प्रचण्डले मानवअधिकार, सहभागितामूलक लोकतन्त्र, आवधिक निर्वाचन, समावेशी समानुपातिक प्रतिनिधित्व, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका र विधिको शासनको विश्वव्यापी मान्यतालाई सुदृढ गर्न नेपाल प्रतिवद्ध रहेकाे बताउनुभयाे ।
साेही क्रममा नै निर्वाचित संविधानसभाबाट सन् २०१५ मा लोकतान्त्रिक संविधान जारी भएकाे उहाँले उल्लेख गर्नुभयाे । प्रधानमन्त्री प्रचण्डले संघीय, प्रादेशिक र स्थानीय तहको लगातार दुईवटा निर्वाचनले राज्यका सबै तहमा महिला, दलित, युवा र न्यून प्रतिनिधित्व भएका समुदायको सहभागिता बढाएको बताउनुभयाे ।
स्थानीय तहमा ४१ प्रतिशत, प्रदेशसभा र संघीय संसद्मा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था रहेको र साेकाे अभ्यास भइरहेकाे उहाँले जानकारी दिनुभयाे ।
प्रधानमन्त्री प्रचण्डले नेपाल अहिले अल्पविकसित मुलुकहरूको अध्यक्षको हैसियतमा आफ्नो सामूहिक हितको रक्षा गर्न र त्यसलाई प्रबर्द्धन गर्न यूएन प्रणालीलगायत सबै सान्दर्भिक फोरममा एलडीसीसँग सहकार्यमा सक्रिय रुपमा संलग्न हुने प्रतिबद्धता पनि व्यक्ति गर्नुभयाे ।
नेपालजस्ता जलवायु जोखिममा रहेका हिमाली मुलुकले जलवायु परिवर्तनको चरम पीडा भोग्दै आएको प्रधानमन्त्रीले सभामा उल्लेख गर्नुभयाे । ‘हिमालय क्षेत्र दुई अर्बभन्दा बढी मानिसका लागि ताजा पानीको स्रोत हो । जलवायु परिवर्तनका कारण हाम्रो हिमालयमा हिउँ तीव्र रुपमा घटिरहेको छ,’ प्रधानमन्त्रीले भन्नुभयाे, ‘जलवायु परिवर्तनले हाम्रो हिमालको स्वास्थ्यलाई मात्रै नभई त्यहाँभन्दा तलतिर बस्ने लाखौं मानिसको जीवन र जीविकोपार्जनलाई समेत खतरामा पारेको छ ।’
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सिधै चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेकाे छ । प्रधानमन्त्री प्रचण्ड सेप्टेवर ३० मा स्वदेश फर्कनुहुनेछ।

