शिक्षक महासंघकाे आन्दोलन फिर्ता, शिक्षा विधेयक संशोधन गर्न सरकार सहमत
सरकार संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक संशोधन गर्न सहमत भएको छ । नेपाल शिक्षक महासंघकाे आह्वानमा भएकाे आन्दाेलन सरकारसँग ६ बुँदे सहमति भएसँग फिर्ता भएकाे छ ।
आन्दाेलनरत शिक्षकहरुले पठनपाठन रोकेर काठमाडौंमा तीन दिनसम्म प्रदर्शन गरेका थिए । शुक्रबार नेपाल शिक्षक महासंघ र सरकारवीच भएकाे वार्तामा ६ बुँदे सहमति भएकाे छ ।
महासंघको आह्वानमा शिक्षकहरुले १७ बुँदे माग राख्दै बिहीबारदेखि काठमाडौंमा प्रदर्शन थालेपछि ३ दिनसम्म देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएकाे थियाे ।
सरकार र शिक्षक महासंघबीच भएको ६ बुँदे सहमतिमा संसदमा दर्ता भएको विद्यालय शिक्षक विधेयक, यसको नियमावलीमा समावेश गर्ने विषयहरुमा सहमति जुटेको छ ।
यसबाहेक सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकको मर्यादाक्रम कायम गर्ने, शिक्षा नियमावलीअनुसार पाइरहेको उपचार खर्चसम्बन्धी व्यवस्था यथावत राख्ने, विधेयकका कतिपय प्रावधानहरू शिक्षक महासंघका माग अनुसार संशाेधन गर्ने लगायतका बिषयमा सहमति जुटेकाे हाे ।




