क्यानमा नयाँ नेतृत्व चयन, सचिवमा पारस खड्का विजयी
नेपाल क्रिकेट संघमा नयाँ नेतृत्व चयन भएकाे छ । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भएका हुन् ।
सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित हुनुभएकाे छ । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित हुनुभएकाे हाे ।
कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाए । पारस यसअघि क्यानको बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित हुनुभएकाे थियाे ।
सदस्यहरुमा पनि महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया निर्विरोध चयन हुनुभएकाे छ । अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक एक जना सदस्य र खुला ५ जना सदस्यका लागि पनि चुनाव भएको थियो ।
जसमा कोशीबाट अर्जुन पौडेल, मधेश प्रदेशबाट माधव कुमार कर्मचार्य, गण्डकीबाट सुदीप शर्मा, बागमतीमा दिवाकर घले र सुदुरपश्चिमबाट विक्रम विष्ट विजयी हुनुभएकाे छ । त्यस्तै खुल्ला सदस्यमा धीरेन्द्र साउद ५९, दुर्गाराज पाठक ५४, आयुष श्रेष्ठ ५१, वीरेन्द्र चन्द ३४ मत ल्याएर निर्वाचित भए । करण महतरा क्षेत्री र ऋषिराम गौतमले बराबर २६ मत पाएका थिए र गोला प्रथा गर्दा करण चुनिएकाे निर्वाचन सिमितले जनाएकाे छ ।

