काठमाडाैंमा सुरक्षा संयन्त्र हाई अलर्टमा !

काठमाडाैंमा दुइ फरक फरक प्रर्दशन हुने भएपछि सुरक्षा संयन्त्र हाई अलर्टमा राखिएकाे छ । ट्राफिक प्रहरीले अत्यावश्यक बाहेकका काममा सवारी साधन लिएर ननिस्कन भनेकाे छ ।

प्रमुख प्रतिपक्षी एमालेनिकट युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले काठमाडाैंमा प्रदर्शन गर्न लागेका हुन् ।

माइतीघरमा प्रशासनले निषेधाज्ञा जारी गरेपछि दुवै समूहको कार्यक्रम छुट्टाछुट्टै स्थानमा आयोजना हुन लागेको हो । प्रशासनले युवा संघलाई तीनकुने र प्रसाईं नेतृत्वको अभियानलाई बल्खुमा कार्यक्रम गर्न अनुमति दिएको छ ।

प्रदर्शनमा कुनै अप्रिय घटना हुन नदिन र दुई समूहबीचको सम्भावित मुठभेड रोक्नका उपत्यका प्रहरी कार्यालयले कडा सुरक्षा व्यवस्था गरेको जनाएको छ ।

उपत्यका प्रहरी कार्यालयका अनुसार आज दुई समूहको प्रदर्शन लक्षित सुरक्षा व्यवस्थाको लागि ७ हजार सुरक्षाकर्मी परिचालनको तयारी गरिएको छ ।

प्रसाईंकाे नेतृत्वमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ का नामबाट प्रदर्शन हुँदैछ । त्यस्तै एमाले निकट युवा संघ नेपालले पनि प्रसाईंकाे अभिव्यक्तिकाे विराेध तथा भ्रष्टाचार र अनियमितता नियन्त्रण, सामाजिक सद्भाव कायमलगायत माग अघि सारेर प्रदर्शन गर्न लागेकाे हाे ।

दुवै पक्षले शान्तिपूर्ण रूपमा सभा आयोजना गर्ने बताइरहे पनि एक अर्का विरूद्ध उत्तेजक अभिव्यक्ति दिइरहेका छन् ।

 गृह मन्त्रालयका सचिवको संयोजकत्वमा मन्त्रालयमा समन्वय संयन्त्र खडा गरी प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति फिल्डमै खटाइएको छ । त्यस्तै सेनासहितको संयुक्त सुरक्षा संयन्त्रलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा अपरेसन कमान्डका रूपमा खडा गरिएको छ ।

प्रसाईं नेतृत्वको अभियानले व्यवस्था नै परिवर्तन गर्ने मागसहित आन्दोलन घोषणा गरेकाे हाे । साे समूहले बैंक तथा वित्तीय संस्थाकाे ऋण मिनाह, व्याजदर न्यून हुनुपर्ने लगायतका माग समेत अगाडि सारेकाे छ।

Facebook Comments