कांग्रेस महामन्त्रीद्वयकाे सभापति देउवासँग फरक मत
नेपाली कांग्रेसका महामन्त्रीद्वयले पार्टी सभापतिसँग फरक धारणा राखेका छन् । महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई १३ बुँदे लिखित धारणा नै पेश गर्नुभएकाे छ ।
सोमबारको केन्द्रीय समिति बैठकमा थापाले सभापति देउवालाई लिखित मत भन्दै १३ बुँदे धारणा सहित केन्द्रीय सदस्यहरूले उठाएका बिषयमा आफ्ना धारणा राख्नुभएकाे थियाे ।
महामन्त्री थापाले कुनै पनि अभियाेगमा थुनामा या अनुसन्धानकाे दायरामा परेका नेता कार्यकर्ता वा सदस्यलाई निलम्बन गर्नुपर्ने धारणा राख्नुभउकाे छ ।
केन्द्रीय समितिमा सभापति देउवा पक्षधर नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता बालकृष्ण खाँडलाई पार्टीबाट निलम्बन गर्न नहुने बताएका थिए । साेकाे जवाफमा महामन्त्री थापाले निलम्बन गर्नुपर्ने धारणा राख्नुभएकाे हाे ।
खाणलाई निलम्बन गर्ने कि नगर्नेमा केन्द्रीय समिति सदस्यहरूको मत बाझिएको छ। सभापति देउवा पक्षका नेताहरूले अदालतको निर्णयपछि मात्रै पार्टीले निर्णय गर्नुपर्ने धारणा राखेका छन् ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा अवसरकाे बाँडफाँड एवं पदीय जिम्मेवारी बहनका लागि समय सीमा निर्धारण गर्नुपर्ने धारणा राख्नुभएकाे छ । उहाँले यसरी जिम्मेवारी किटान गरेमा न्यायसंगत हुने बताउनुभयाे ।
कांग्रेसमा विद्यमान निर्वाचन प्रणाली फेर्नुपर्ने धारणा समेत उठेकाे छ ।

