सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढ्ने

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा अघि बढाइने भएकाे छ ।

साे विधेयकका सम्बन्धमा छलफल गर्न सोमबार बसेको तीन दलको बैठकमा सोसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा अघि बढाउन सहमति जुटेको हाे।

प्रधानमन्त्री निवास बालुवटारमा बसेको बैठकमा संसद्को तीन ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा(माओवादी केन्द्र)का शीर्ष नेताहरू सहभागी हुनुभएकाे थियाे ।

साे अवसरमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्को आगामी अधिवेशनमा अघि बढाउन एक मत भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

अब सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माणका लागि संसदीय समितिमा रहेको विधेयकलाई अगाडि बढाउन दलहरुले सहयोग गर्नेछन् ।

दलहरूबीच पीडितले न्याय पाएको अनुभूति गर्नेगरी कानुन बनाउने सहमति भएको र आउँदो हिउँदे अधिवेशनबाट उक्त विधेयक संसद्मा प्रस्तुत हुने एमालेका सचेतक महेश बर्ताैलाले जानकारी दिनुभयाे ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ तथा कांग्रेस नेता राधेश्याम अधिकारी, एमाले नेता अग्निप्रसाद खरेल र महेश बर्तौला, माओवादी केन्द्रका वर्षमान पुन र खिमलाल देवकोटाको सहभागिता रहेको थियो।

Facebook Comments